उम्मेदवारको मापदण्ड बनाउन एमाले स्थायी कमिटी बैठक सुरु

 

बालकोट । नेकपा एमाले स्थायी कमिटीको बैठक सुरु भएको छ । स्थानीय तहको नयाँ संरचना अनुरुप पार्टी संगठनलाई ब्यवस्थापन गर्न र आसन्त चुनावका लागि उम्मेदवारको मापदण्ड तयार गर्न बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सुरु बैठक स्थानीय तहमा नयाँ संरचना बनेकाले सोही अनुरुप संगठनलाई ब्यवस्थापन गर्न कार्यदल बनाउने छ ।
स्थानीय निकायका गाउँ कमिटीहरु नयाँ संरचना बनेपछि नगरपालिका र गाउँपालिकाका वडा कमिटीमा रुपान्तरण हुनेगरी गाउँ र नगर पालिकामा संगठन कमिटी बनाउने तयारी एमालेको छ । त्यसका लागि आवश्यक नीतिगत निर्णय गर्न बैठक बस्न लागेको हो । स्थानीय तहमा उम्मेदवार चयन गर्न पनि स्थानीय कमिटीहरुलाई नै जिम्मेवारी दिने एमालेको तयारी छ । पार्टीको केन्द्रीय तहबाट नीतिगत निर्देशन मात्रै हुने र स्थानीय तहकै कमिटीले उम्मेदवार चयन गर्नेगरी मापदण्ड बनाउने तयारी एमालेको छ ।
नयाँ संरचना अनुरुपका स्थानीय तहमा तत्कालै संगठन कमिटीहरु समायोजन गर्नेगरी नीतिगत निर्देशन बैठकले दिने एमाले नेताहरुले वताएका छन् । जस अनुसार अब यसअघिका गाउँ कमिटीहरु वडा कमिटीमा रुपान्तरण हुनेछन् । यसअघिका गाउँ कमिटी, इलाका कमिटीका पदाधिकारी र क्षेत्रीय कमिटीका पदाधिकारीहरुलाई सामेल गरी गाउँ र नगरपालिका कमिटी बनाउने तयारी छ ।
यस्तै गाउँपालिका र नगरपालिका कमिटीमा सम्बन्धित क्षेत्र तथा इलाका कमिटीका इन्चार्जहरु पनि रहनेछन् र बरिष्ठतम मध्येबाट गाउँपालिका कमिटीको संयोजक बन्नेछन् । यसैबीच मेची–महाकाली अभियान अन्तर्गत स्थगित नभएको २ नम्बर प्रदेशको अभियानका कार्यक्रम पनि एमालेले बनाउने भएको छ ।
चैत १० गते ।