भारतबाट थप १०० मेगावाट विद्युत खरिद हुन सकेन

काठमाडौँ । नेपालले भारतसँग खरीद गर्ने भनेको थप एक सय मेगावाट विद्युत खरीदको सम्झौता हुन सकेन। विद्युत खरीदका सम्बन्धमा दुबै मुलुकका विद्युत प्राधिकरणबीच भएको बार्तामा खरीद प्रकृया तथा मूल्यका बारे कुरा मिल्न नसक्दा सम्झौता हुन नसकेको हो।
भारतले कटैया—कुसाहा, रक्सौल(परवानीपुर प्रसारण लाइनबाट ५० —५० मेगावाट विद्युत बेच्न सहमति जनाइसकेको थियो। यही सहमति अनुरुप एक सय मेगावाट विद्युत खरीदका लागि सम्झौता गर्न प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंगको नेतृत्वमा एक टोली नयाँ दिल्ली गएको थियो। विद्युत खरीदको प्रकृया तथा मूल्यका विषयमा दुबै पक्षबीच सहमति हुन नसकेपछि सम्झौता हुन नसकेको हो। बैठकमा सहभागी प्राधिकरणका उपप्रबन्ध निर्देशक राजीव शर्माले भने, कुन माध्यमबाट विद्युत खरीद गर्ने विषयमा नै कुरा मिल्न सकेन जसका कारण मूल्यको टुंगोमा पनि पुग्न सकिएन।
भारतले जति सक्दो बढि मूल्यमा बेच्न खोजेको छ भने नेपाली पक्षले कम मूल्यमा खरीद गर्न खोजेको छ। त्यसैमा कुरा नमिलेको हुँदा सम्झौता हुन नसकेको बुझिएको छ। नेपाली पक्षले व्यापारीसँग खरीद गर्न पाउनुपर्ने भनाइ राखेका थिए भने भारतीय पक्षले राज्य सरकारबाट खरीद गर्नु पर्ने भनाइ राखेको छ।
व्यापारीबाट खरीद गर्दा खुला प्रतिस्पर्धाबाट नेपाली पक्षले कम मूल्यमा विद्युत किन्न सक्छ। राज्यबाट खरीद गर्दा कर, आन्तरिक नोक्सान लगायत विभिन्न शीर्षकमा जोडिएका खर्चले विद्युतको मूल्य बढि पर्न जाने भनाइ नेपाली पक्षको रहेको छ। राज्यबाट खरीद गर्दा प्रतिस्पर्धाको अवस्था नै नरहने हुँदा नेपाली पक्ष महंगोमा विद्युत खरीद गर्न बाध्य हुन्छ।
राज्यका अलाबा व्यापारीहरुसँग पनि विद्युत खरीद गर्न पाउने विषयमा नेपालको पराराष्ट्र मन्त्रालयले भारत सरकारलाई पत्राचार गरिसकेको छ। भारतबाट नेपालले न्यूनतम ३ रुपैया ४४ पैसा भारतीय रुपैया ५ रुपैया ५० पैसा नेपाली रुपैया प्रति युनिट विद्युत खरीद गरिरहेको छ।
चैत १८ गते ।