प्रवासी नेपालीलाई चुनावमा घर फर्कन एमालेको आव्हान
काठमाडौं । एमालेले १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा भाग लिन प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन आग्रह गरेको छ । निर्वाचन समन्वय तथा अनुगमन गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित समन्वय समितिको बैठकले यस्तो आग्रह गरेको हो ।
यस्तै एमालेले स्थानीय तहको निर्वाचनमा ध्यान केन्द्रित गर्न पार्टीका मातहत कमिटी तथा प्रवास कमिटीहरुका सम्मेलनहरु जेठको पहिलो समतासम्मका लागि स्थगित गरेको छ । ‘स्थानीय निर्वाचनलाई ध्यानमा राखी मातहतका सम्मेलन तथा अधिवेशनहरु स्थगित गर्ने निर्णय गरिसकेको परिप्रेक्ष्यमा देशबाहिर रहेका प्रवासी नेपाली मञ्चका अधिवेशनहरु बैशाखदेखि जेठको पहिलो सातासम्म स्थगित गर्ने निर्णय गरेकाले सोही अनुसार मातहत कमिटीहरुलाई निर्देशन दिइएको छ’ एमाले सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘साथै, दुई दशकपछि आयोजना हुन लागेको स्थानीय निर्वाचनमा सहभागी हुनका लागि प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश फर्की सक्रियतापूर्वक भाग लिन आग्रह गरिएको छ ।’
यस्तै स्थानीय निर्वाचनका लागि घोषणापत्र तयार पार्न उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा गठित घोषणापत्र मस्यौदा कमिटीको पहिलो बैठक मंगलवार सम्पन्न भएको छ । बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट बनाइने घोषणापत्रका बारेमा प्रारम्भिक छलफल भएको छ । नेपाली जनताका प्रतिनिधिहरुद्वारा संविधानसभामार्फत जारी संविधानले नै अबको हाम्रा कार्यभार आर्थिक–सामाजिक रुपान्तरणमार्फत समाजवादउन्मुख तय गरिसकेकाले समाजवाद प्राप्तिका लागि आवश्यक घोषणापत्र जनतासमक्ष लैजाने गरी छलफल अघि बढाइएको भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।