स्थानीय तहको निर्वाचन विगतको जस्तो निर्वाचन होइन : प्रधानमन्त्री

 

काठमाडौंँ, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई अधिकार सम्पन्न बनाउने गरी स्थानीय तहको व्यवस्था गरिएको र त्यो नेकपा (माओवादी केन्द्र)को उपहार भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “कतिपयले बीस वर्षपछि स्थानीय निर्वाचन हुन लागेको चर्चा गर्ने गरेका छन् । तर यो पुरानै गाउँ पञ्चायत र गाउँ विकास समितिको निर्वाचन होइन । सिंहदरबारको अधिकार गाउँ, नगरमा फर्काउने व्यवस्थासहितको स्थानीय तहको निर्वाचन हो । त्यसकारण यो निर्वाचन विशिष्ट छ ।”

गाउँपालिका र नगरपालिकाको व्यवस्था र स्थानीय तहको निर्वाचन माओवादी केन्द्रको उपहार भएको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले सिंहदरबारको अधिकार गाउँ तहमा पुगेको उपहार लिएर जनताको घरदैलोमा जान र पार्टीलाई विजयी गराउनेतर्फ लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणका क्रममा तातोपानी नाका खुलाउनेबारे चिनियाँ राष्ट्रपतिसँग गम्भीररुपमा कुराकानी भएको र चिनियाँ राष्ट्रपतिले समेत नाका खुलाउन व्यक्तिगत रुपमै चासो दिएको बताउनुभयो ।

कार्यक्रममा व्यवसायी एवम् समाजसेवी राजकुमार पौडेलले सिंहदरबारमा केन्द्रित अधिकार गाउँ–गाउँमा ल्याउन माओवादीले बलिदान गरेको भन्दै त्यसको रक्षाका लागि आफूहरु माओवादी केन्द्रमा समाहित भएको बताउनुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका ६० जना नेता र कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले स्थानीय तहको निर्वाचनले जनतालाई अधिकारसम्पन्न बनाउने बताउनुभयो ।