कोका कोला कपको ९ औं संस्करणको पुनरागमन
काठमाडौं । कोका कोला नेपाल, अखिल नेपाल फुटबल संघ (एन्फा) तथा युवा तथा खेलकुद मन्त्रालयले संयुक्त रुपमा आयोजना गर्ने गरेको कोका कोला कप २०७४ नवौं संस्करणको पुनरागमन भएको छ । विद्यालय स्तरीय आधारभूत तहको देशकै सबैभन्दा ठूलो प्रतियोगिताकोे घोषणा गरिएको छ ।
यसका अतिरिक्त, एन्फासँग आबद्ध ४३ जिल्लाहरुमा प्रतियोगिता खेलाईने छ, जसमा हरेक जिल्लाबाट ३५भन्दा बढि विद्यालयहरु सहभागी हुनेछन् । यति धेरै संख्यामा छात्र र छात्रा खेलाडिको सहभागिता रहने यो नेपालकै सबै भन्दा बृहत प्रतियोगिता हो ।
कोका कोला कप नेपाली युवाहरुलाई फुटबलमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने तथा आफ्नो क्षमतालाई बिकास गर्ने अवसर प्रदान गर्ने संरचना हो । यो वर्षको प्रतियोगिता जिल्ला तह, क्षेत्रिय तह र केन्द्रिय तह गरि तीन तहमा वर्गिकरण गरिने छ । जिल्ला तहका खेलहरु क्रमशः ४३ जिल्लाहरुमा २०७४ असार २३ गते देखि श्रावण १३ गते सम्म आयोजना हुनेछ, क्षेत्रिय तहको प्रतियोगिताहरु ५ क्षेत्रहरुमा ६ वटा स्थानमा क्रमशः २०७४ श्रावण २९ गते देखि भदौ ९ गतेसम्म संचालन हुनेछ, त्यसैगरि राष्ट्रिय तहका खेलहरु काठमाडौंमा २०७४ भाद्र २३ गते देखि असोज १ गते सम्म आयोजना गरिने छ ।
वि.सं. २०६३ सालदेखि शुरु भएको प्रतियोगिताले एन्फाद्धारा संचालन गरिने विशेष तालिम कार्यक्रमका लागि सहभागी छान्ने अवसर पनि प्रदान गर्दछ । कार्यक्रमको एक भागको रुपमा, एन्फाका निरिक्षकहरुले प्रत्येक खेलको अवलोकन गर्ने र एन्फा फुटबल एकाडेमीमा तालिमका लागि उत्कृष्ट खेलाडीहरु छनौट गर्दछन्, जहाँ छनौट गरिएका खेलाडिहरुले नेपालका उत्कृष्ट प्रशिक्षकहरु सँग तालिम लिने अवसर प्राप्त गर्दछन् । एन्फा द्वारा आमन्त्रित विशेषज्ञहरुले ती छनौट गरिएका खेलाडीलाई खान पान र शारीरिक व्यायाम सम्बन्धी तालिम पनि दिईन्छ ।
बिगतमा, कोका कोला कपले नेपालको सशक्त राष्ट्रिय टोली निर्माण गर्न नयाँ प्रतिभा छनौट गर्न सहयोग गरेको छ । राष्ट्रिय खेलाडीहरु जस्तै विशाल राई, विकेस कुथु, रविन श्रेष्ठ, हेमन गुरुङ्ग, बिमल घर्तिमगर, आदित्य चौधरी, अनन्त तामाङ्ग र अन्जन बिष्ट बिगतमा कोका कोला कपमा उत्कृष्ट प्रदर्शन गरेरै छनौट कर्ताको आँखामा परेका हुन्् ।
एन्फाद्धारा निर्देशनबाट प्राप्त हुने अलग्गै अवसर बाहेक, टोलीहरु तथा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्नेहरुलाई प्रदान गरिने नगद पुरस्कारहरु पनि घोषणा गरिएको छ । छात्र तथा छात्राहरु दूबै समूहका बिजेताहरुले रु.३,००,००० प्राप्त गर्नेछन् भने पहिलो तथा दोस्रोे रनर–अपले क्रमशः रु. १,०००००, तथा रु. ५०,००० प्राप्त गर्नेछन् । व्यक्तिगत बिधातर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर तथा उत्कृष्ट फरवार्डरलाई पनि पुरस्कृत गरिने छ ।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले भन्नुभयो, ‘कोका कोला कपले नेपाली युवाहरुलाई उनीहरुको कार्य क्षमता उजागर गर्न तथा उनीहरुको फुटबलको सिपलाई तिखार्न सहयोग गर्ने उदेश्य राखेको छ । कोका कोलाले विश्वभर फुटबललाई सहयोग गर्दछ र युवा पुस्तालाई उनीहरुको मनपर्ने खेल खेल्न र हेर्न उत्प्रेरित गर्दछ । एन्फासँगको हाम्रो सहकार्य युवा खेलाडिहरुको लागि एउटा माध्यम हो, जहाँबाट राष्ट्रिय टिममा खेल्ने फुटबल खेलाडिहरु उत्पादन गर्नु हो । कोका कोला कपको माध्यमबाट, आगामी पुस्ताका नेपाली फुटबलहरुलाई हामी निरन्तर उत्प्रेरित गर्न सक्नेछौं भन्ने आशा गरेका छौं ।’
नेपालमा कोका कोला कम्पनीका देशिय निर्देशक श्री अम्बुज सिंहले भन्नुभयो,ु कोका कोला कप प्रायोजन गर्न पाउँदा हामी खुशी भएका छौं र नेपालको आधारभूत तहको सबैभन्दा ठूलो प्रतियोगितामा योगदान गर्न पाउँदा अत्यन्तै हर्षित भएका छौं । हामीले यो खेललाई वि.सं.२०६३ देखि सहयोग गरिरहेका छौं र नेपालको लागि युवा प्रतिभालाई मार्ग दर्शन गर्ने ठूलो अवसर हो । मुलुकभरका आधा भन्दा बढि स्थानहरुमा पुग्न सकेको र सहभागीता गराउन सकेको र देशै भरी फुटबलका लागि आत्मियता फैलाउन सकेकोमा आयोजकहरुलाई बधाई दिन चाहन्छु । यसका अतिरिक्त, फुटबल प्रति समर्पित फुटबल प्रेमीहरुले प्रतियोगितामा सहभागीतमा जनाएर आफ्ना सपना पुरा गर्नुको साथै उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय फुटबल टोलिलाई पनि योगदान दिन सक्नेछन् भन्नेमा म विश्वस्त रहेको छु ।’