ऊर्जामन्त्री शाही र जापानी राजदूतबीच भेटवार्ता
काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसंग नेपालका लागी जापानी राजदुत मासाशी ओगावाले शिष्टाचार भेटघाट गरेका छन् । मन्त्रालयको कार्यकक्षमा आज भएको भेटमा ऊर्जामन्त्री शाहीले जापान सरकारलाई ऊर्जा , सिंचाई र खानेपानीका लागी एकिकृत परियोजना निर्माणमा लगानी गर्न जापानसंग प्रस्ताव गरे ।
जापान नेपालको एक भरपर्दो विकास साझेदार राष्ट्र भएको बताउँदै उनले ऊर्जा क्षेत्रमा जापानले एक नमुना परियोजना निर्माण गर्नुपर्नेमा जोड दिए । मन्त्री शाहीले भौतिक पूर्वाधार , कृषि , वागवानी , निमार्ण , सञ्चार र मानव संशाधन विकासमा जापानी सहयोग उल्लेख्य रहेकोले जापानले ऊर्जा क्षेत्रमा नमुना परियोजना निर्माण गरेमा त्यसको महत्व निकै ठुलो हुने बताए ।
उनले नेपालमा विद्यमान जल तथा अन्य ऊर्जाका क्षेत्रमा जापानी ऊर्जा कम्पनीहरुको लगानी बृद्धिका लागी पनि जापानको सकारात्मक सहयोगको अपेक्षा गर्नुभयो । ऊर्जा , कृषिको आधुनीकीकरण तथा विकास , भौतिक पूर्वाधार , पर्यटन लगायतका क्षेत्रमा प्रत्यक्ष लगानी भित्र्याउन नेपालका नीति तथा कार्यक्रमहरु सहयोगी रहेको कुरा औंल्याउँदै उनले नेपालमा गरिएको लगानी खेर नजाने स्पष्ट पारे ।
जवाफमा राजदुत ओगावाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न जापान सकारात्मक रहेको बताउँदै तनहुँमा जाइकाको सहयोगमा जलविद्युत परियोजना निर्माण भईरहेको बताए । उहाँले नमुना परियोजना निर्माणका लागी काम गर्ने गरि परियोजना निर्माणको ठोस खाका तयार गर्ने बचन दिए ।