अब सार्वजनिक बसमा पनि जहाजमा जस्तै ‘लगेज ट्याग’ प्रणाली, जेठ १५ देखि लागू हुने
काठमाडौँ, ९ जेठ । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको झोला (लगेज) सुरक्षित राख्न ‘ट्याग’ प्रणाली लागू गरिने भएको छ। सार्वजनिक यातायातलाई मर्यादित बनाउन र यात्रुको सामान हराउने वा साटिने समस्या अन्त्य गर्न यो नयाँ व्यवस्था सुरु गर्न लागिएको हो।
यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी र महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गर्नुभएको छ।
आगामी जेठ १५ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार बस काउन्टरबाटै यात्रुको लगेजमा एउटा विशेष कोड वा नम्बरसहितको ट्याग लगाइनेछ। सोही नम्बर भएको रसिद यात्रुलाई दिइनेछ। गन्तव्यमा पुगेपछि यात्रुसँग भएको रसिद र झोलामा भएको ट्याग भिडाएर मात्र सामान हस्तान्तरण गरिनेछ।
एसएसपी नवराज अधिकारीका अनुसार पछिल्लो समय बसमा यात्रा गर्दा सामान चोरी हुने, हराउने वा अवाञ्छित वस्तु ओसारपसारमा सवारीको दुरुपयोग हुने गुनासो बढेकाले यो प्रणाली ल्याइएको हो। “यात्रुको सुरक्षा र भरोसा हाम्रो प्राथमिकता हो, प्रारम्भिक चरणमा यो व्यवस्था लामो दूरीका सवारीमा अनिवार्य गरिनेछ,” उहाँले भन्नुभयो।
महासङ्घका अध्यक्ष सरोज सिटौलाले हवाई यात्राको झल्को दिने गरी बस सेवामा पनि आधुनिक प्रविधि भित्र्याइएको बताउनुभयो। उहाँले भन्नुभयो, “जहाजमा जस्तै अब बसमा पनि ढुक्क भएर यात्रा गर्ने वातावरण बन्नेछ। यसले चालक र सहचालकलाई पनि सामान व्यवस्थापनमा जवाफदेही बनाउनेछ।”