सुनचाँदी व्यवसायीद्धारा शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग आग्रह
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसायिहरुको शान्ति सुरक्षाको प्रभावकारी ब्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै सर्लाही कविलास नपा वडा ३ बस्ने २९ वर्षीया सुन व्यवसायी सुनील शाहलाई गोली हानी हत्या गरेको घटनाको भत्सना गर्दै यस्ता गतिविधी पुनः दोहोरिन नदिन र व्यसायीलाई शान्ति सुरक्षाको प्रत्यभूतिगर्न माग गरेको हो ।
महासंघका अध्यक्ष मोहन सुनारका अनुसार सर्लाहीको पीडारीमा सुनचाँदी पसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूले गोली हानी शाहको हत्या गरेको हो । शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए । शाहको गाउँ पिपरियाबाट २ किलोमिटर रहेको छ । मोटरसाइकलमा आइरहेको बेला गाउँको बीचमा अज्ञात समूहले गोली हानेको मृतक शाहका बुवा नागेन्द्र शाहको भनाई उदृद्ध गर्दै महासंघले जनाएको छ ।
महासंघका महासचिव धर्मशुन्दर बज्राचायृका अनुसार बाबुछोरा पसल बन्द गरेर घर जाँदै गर्दा गाउँको बीचमा अज्ञात समूहले मोटरसाइकल रोक्न लगाई पैसा एवं गरगहना मागेको र दिन नमानेपछि उनीहरुले गोली चलाएका थिए । मृतक शाहको शव पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा ल्याइएको छ । यसअघि सोमबार दिउँसै राजधानी काठमाडौंको शान्तिनगरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या गरिएको थियो । दिनप्रतिदिन यस्ता घटना घट्दै गएकोप्रति महासंघले सरकारको ध्यानाकर्षण गराउँदै दोषिलाई तत्काल कारवाहीगर्न माग गरेको छ ।
यसैवीच महासंघको चितवन माडीको बसन्तपुर स्थीत उत्तम सुनचाँदी पसलबाट नगद १ लाख ४१ हजार पाँच सय पच्चिस रुपैयासहित सुन र चाँदी गरी करिब ६ लाख ४५ हजार एक सय पन्चानब्बे रुपैयाँ बराबर गरगहना तथा नगद चोरी भएको भन्दै सुरक्षाको प्रत्याभुति दिन सरकारसँग आग्रह गरेको छ । महासंघले हत्या र चोरीमा संलग्नहरुको पहिचानगरी दोषिलाई सिघ्र कारवाही गर्न माग गरेको छ ।