परमाणु परीक्षण केन्द्र बन्द गर्ने उत्तर कोरियाको घोषणा
सोल । उत्तर कोरियाले आफ्नो पारमाणविक परीक्षण केन्द्र आउँदो मे महिनामा बन्द गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ।
एकजना प्रवक्ताले सार्वजनिक कार्यक्रमका माझ परीक्षण केन्द्र बन्द गरिने र हेर्नका लागि दक्षिण कोरियाली तथा अमेरिकी विज्ञहरूलाई निम्त्याइने बताए।
यसअघि शुक्रवार उत्तर कोरियाली नेता किम जङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने सहमति गरेका थिए।
केही महिनाअघिको वाक्युद्धको स्थितिपछि दुई कोरियाबीच भएको शिखर बैठकमा त्यस्तो सहमति गरिएको थियो।