गर्मीले कञ्चनपुरको भीमदत्त नगरपालिकामा १२ दिन विद्यालय बन्द

कञ्चनपुर, ५ असार । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरूमा १२ दिन बिदा दिने निर्णय गरेको छ। बढ्दो तापक्रमका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय लिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार आगामी असार ८ गतेदेखि असार १९ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूमा बिदा दिइएको छ।

नगरपालिकाले यो १२ दिने बिदालाई विद्यालयको वार्षिक बिदा (लामो बिदा वा वर्षे बिदा) बाट कट्टा हुने गरी एकमुष्ट मिलान गरेको छ। “पछिल्ला केही दिनदेखि अत्यधिक गर्मी बढेकाले विद्यार्थीहरूलाई विद्यालय आउन-जान र कक्षाकोठामा बस्न निकै सास्ती भएको छ,” प्रमुख प्रशासकीय अधिकृत बमले भन्नुभयो, “बालबालिकाको स्वास्थ्य संवेदनशीलतालाई उच्च प्राथमिकता दिँदै यो निर्णय गरिएको हो।”

तराईका जिल्लाहरूमा केही समयदेखि तापक्रम लगातार बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ। भीमदत्त नगरपालिकाले मौसमको अवस्था सामान्य भएपछि र तापक्रम घटेपछि पूर्व्निर्धारित तालिकाअनुसार नै विद्यालयहरू पुनः सञ्चालन हुने जनाएको छ।

अत्यधिक गर्मीका कारण कञ्चनपुरसहित सुदूरपश्चिमका तराईका जिल्लाहरूमा विद्यालय जाने उमेरका बालबालिकामा टाउको दुख्ने, रिङ्गटा लाग्ने र बेहोस हुने जस्ता समस्या देखिन थालेपछि स्थानीय तहहरूले धमाधम बिदा दिन थालेका छन्।