राष्ट्रिय चलचित्र पुरस्कार : मदनकृष्ण श्रेष्ठलाई ३ लाख ७५ हजारको ‘दीर्घसाधना सम्मान’
काठमाडौँ, २५ असार । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ बाट सम्मानित गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित एक भव्य समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान प्रदान गर्नुभयो ।
नेपाली कला र रङ्गमञ्चको क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई यो सर्वोच्च सम्मान प्रदान गरिएको हो । सम्मान कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको समेत उपस्थिति रहेको थियो ।
समारोहमा २०८२ सालमा प्रदर्शन भएका चलचित्रहरूमध्येबाट विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरियो । यस वर्षको सर्वोत्कृष्ट चलचित्रको अवार्ड ‘ऊनको स्वीटर’ ले हात पारेको छ । सोही चलचित्रबाट नवीन चौहानले सर्वोत्कृष्ट निर्देशक र मिरुना मगरले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जित्नुभयो । त्यस्तै, चलचित्र ‘परान’ बाट वरिष्ठ अभिनेता नीर शाहले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्नुभयो । लेखनतर्फ ‘परान’ कै लागि दीपकप्रसाद आचार्य र यम थापा पुरस्कृत हुनुभयो ।
सर्वोत्कृष्ट चलचित्र : ऊनको स्वीटर
सर्वोत्कृष्ट निर्देशक : नवीन चौहान (ऊनको स्वीटर)
सर्वोत्कृष्ट अभिनेता : नीर शाह (परान)
सर्वोत्कृष्ट अभिनेत्री : मिरुना मगर (ऊनको स्वीटर)
सर्वोत्कृष्ट छायाङ्कन : पदमबहादुर श्रेष्ठ (कोशेढुङ्गा)
सर्वोत्कृष्ट सम्पादन : नकुल खड्का (कोशेढुङ्गा)
आदिवासी जनजाति चलचित्र : इन्दिरा धिमे मैचा
विशेष चलचित्र पुरस्कार : नाकछोङ्ग (नगद २ लाख रुपैयाँ)
समारोहमा चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष स्वर्गीय दिनेश सिटौलालाई मरणोपरान्त ५० हजार रुपैयाँसहित ‘विशेष योगदान सम्मान २०८२’ प्रदान गरियो । यस्तै, अभिनेत्री आना शर्मा र नवकलाकार विमोचन दवाडीले ‘निर्णायक समिति प्रोत्साहन पुरस्कार’ प्राप्त गर्नुभयो ।
विशेष योगदान सम्मानबाट निर्माता विष्णुगोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, पत्रकार प्रकाश सुवेदी, अभिनेता रोहित रुम्बा, लक्ष्मी बर्देवालगायत ९ जना कलाकर्मीहरू सम्मानित हुनुभयो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रले पछिल्लो दुई वर्षमा १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेर आर्थिक रूपमा ठूलो योगदान दिएको बताउनुभयो । उहाँले नयाँ चलचित्र ऐन छिट्टै आउन लागेको र यसले नेपाली चलचित्रको भविष्य थप उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभयो ।