बैंकका सीईओको तलबभत्तामा राष्ट्र बैंकको कडाइ : नियुक्तिमै खुलाउनुपर्ने, नयाँ मार्गदर्शन जारी
काठमाडौँ, ५ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता र अन्य सुविधालाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ मार्गदर्शन जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन, २०८३’ सार्वजनिक गरेको हो ।
केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार यो मार्गदर्शन राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका सबै वर्गका वित्तीय संस्थाहरूमा लागू हुनेछ । पौडेलका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनी, ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थामा लागु हुनेछ ।
मार्गदर्शनमा बैंकका सीईओहरूको नियुक्ति र सुविधाका सम्बन्धमा कडा प्रावधान राखिएको छ । अबदेखि कुनै पनि बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब, भत्ता र अन्य सुविधाहरूको बारेमा सम्झौतापत्रमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।
“इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब, भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौतापत्रमा स्पष्ट उल्लेख गर्नुपर्नेछ,” मार्गदर्शनमा भनिएको छ । यसअघि कतिपय संस्थामा तलब सुविधाका विषयमा अस्पष्टता रहने वा पछि थपघट हुने गरेका गुनासोका बीच राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यो मार्गदर्शनले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन कायम गर्न र प्रमुख कार्यकारी अधिकृतहरूको सेवासुविधामा एकरूपता एवं पारदर्शिता ल्याउन सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ ।