भौतिकशास्त्रतर्फको नोबेल तीन जना वैज्ञानिकलाई प्रदान गरिने
स्टकहोम । लेजर फिजिक्सका क्षेत्रमा गरिएको आविष्कारका लागि यस वर्ष एक महिला वैज्ञानिकसहित तीन जना वैज्ञानिकलाई भौतकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । क्यानडाकी वैज्ञानिक डोना स्ट्रिकल्यान्ड, अमेरिकी वैज्ञानिक अर्थर आस्किन र फ्रान्सका वैज्ञानिक जरार्ड माउरोलाई संयुक्त रुपमा यो पुरस्कार दिइने भएको हो । स्ट्रिकल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाउने पहिलो महिला बन्नुभएको छ ।
यी तीन जना वैज्ञानिकले लेजर फिजिक्सको क्षेत्रमा मिलेर अनुसन्धान गर्नु भएको थियो । आस्किनले जैविक प्रणालीको अध्ययनमा प्रयोग हुने लेजर प्रविधिको विकास गर्नु भएको छ भने माउरो र स्ट्रिकल्यान्डले धेरै सघन तर धेरै छोटो लेजर तरङ्ग उत्पादन गर्ने विधि विकास गर्नु भएको छ । ती तरङ्ग आँखाको लेजर शल्यक्रियालगायत विभिन्न काममा प्रयोग गर्न सकिन्छ । उहाँहरुले पाउने पुरस्कार राशि नौ लाख ९८ हजार डलर छ ।