छ सय वर्ष पुरानो घाँसेपुल

 

पेरु । पेरुमा छ सय वर्ष पुरानो घाँसेपुल छ । पेरुको कुस्को इलाकामा रहेको अपुरिमेक नदीमा रहेको सो घाँसेपुल बर्सेनि मर्मत गरिन्छ । हरेक वर्ष त्यो पुलमा बनाइएका घाँसे डोरीहरु फेर्नु पर्दछ । पुरानो घाँसेपुल हटाएर मानिसहरुले हरेक वर्ष नयाँ घासेपुल हाल्ने गर्दछन् । यो पुललाई इन्का रोप ब्रिज भनिन्छ । इन्का साम्राज्यका बेला बनेको हो । हातले बाटेका घाँसको मोटो डोरी नदीको वारपार बाँधेर पुल बनाइएको छ । पछिल्लो ६ सय वर्षदेखि स्थानीय मानिसहरुको खोला वारपार गर्ने माध्यम बनेको छ सोही पुल । रोचक त के भने यो पुललाई सन् २०१३ मा युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । हरेक वर्ष पुलको डोरी फेर्ने क्रममा नदीको वारि र पारि दुवैतर्फका बासिन्दाहरु जुट्दछन् र घाँसका मोटा मोटा डोरी बाट्दछन् । त्यहाँको एउटा अनौठो परम्परा के छ भने घाँसेपुल मर्मतमा केवल पुरुषहरु मात्र सहभागी हुन्छन् । महिलाहरु पुलभन्दा निकै टाढा बसेर स–साना डोरी बाट्ने काम मात्र गर्दछन् ।