न्युयोर्कमा स्वर सम्राट नारायण गोपालको सम्झना —न्युयोर्कबाट न्हुच्छेनारायण डंगोल

न्युयोर्क । स्वर सम्राट नारायण गोपालको २९ औँ पुण्य तिथि न्युयोर्कका कलाकारहरुले विशेष कार्यक्रम आयोजना गरी मनाएका छन् ।
न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्सा घरको हलमा आयोजित उक्त कार्यक्रमको पूर्वसांसद तथा बरिष्ठ साहित्यकार कुन्ता शर्माले नारायण गोपालको तस्विरमा माल्यार्पण गरी शुभारम्भ गर्नुभयो ।


कार्यक्रममा संयोजक लोकप्रिय गायक अभय ढुंगेलले स्वागत गर्दै भन्नुभयो, ‘संसारमा करोडौँ मानिस जन्मन्छन् मर्छन् । यो प्रकृतिको नियम हो । कोही मानिसलाई युगले साचेर राखेको हुन्छ अजर अमर बनाएर । त्यही अजर अमर बनाएर राखेको व्यक्तित्व हो स्वर सम्राट नारायण गोपाल । आज हामी उहाँले गाएका गीतहरु यहाँका कलाकरहरुले गाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिरहेका छौँ ।’
कार्यक्रमम वाद्यवादनमा वरिष्ठ गायक संगीतकार हरिश माथेमा, शिशिर श्रेष्ठ, न्हुच्छेमान डंगोल, नारायण आभास तथा गायनमा वरिष्ठ गायिका सपनाश्री, जगदीश समाल, संगीता मुखिया, सुवर्ण शाक्य, राम श्रेष्ठ, शिव परियार, विमल डाँगी, ओम कर्माचार्य, सानु शेर्पा, राजेन्द्र राई , राजु ढुंगेल, तुल्सीराम न्यौपाने र प्रेम सेञ्चुरी गीतसंगीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम हल दर्शकहरुले खचाखच भरिएको थियो । कार्यक्रम सञ्चालक अभय ढुंगेलले न्युयोर्कको व्यस्त जीवनशैलीबीच तीन दिनमा सोचको कार्यक्रम यसरी सफल हुन्छ भन्ने सोच्दै नसोचेको भन्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा गन्यमान्य व्यक्तित्वहरु, साहित्यकार, पत्रकार ,गायक , गायिका, न्युजर्सीबाट आउनुभएका पाहुनालगायत आम सर्वसाधारणको सहभागिता थियो ।