कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना

 

सुर्खेत । कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या ९६७ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोेगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ३७ जना दैलेखका र १५ जना सुर्खेतका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अहिलेसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी दैलेखका कोरोना सङ्क्रमित छन् । दैलेखमा ५३९ जना सङ्क्रमित भेटिएको जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सुर्खेतमा २१२, सल्यानमा एक सय जना, कालिकोटमा २८ जना, जुम्ला २४ जना, जाजरकोटमा ८ जना, मुगुमा २ जना, हुम्लामा एक जना, डोल्पामा एक जना र अन्य प्रदेशका बासिन्दाको सङ्ख्या १६ जना रहेको महाशाखाले जानकारी दिएको छ ।

यस्तै, आइतबार तीन जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म कर्णालीमा कोरोना निको हुने ९४ जना पुगेको छ । अहिलेसम्म कर्णालीमा तीन जनाको कोरोना कारण मृत्यु भइसकेको छ ।