वेष्टइण्डिज ए विरुद्ध नेपाललाई २२८ रनको लक्ष्य

काठमाडौं, १९ वैशाख । वेष्टइण्डिजले तेस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो ।

जोनसन चार्ल्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए । त्यो समय वेष्ट इण्डिज ३.१ ओभरमा २७/१ को अवस्थामा थियो ।

त्यसपछि दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए । फबियन एलेन ९ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए । किमो पल १३ रनमा नटआउट रहे ।

नेपालका लागि स्पिनर सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा ५३ रन खर्चेका थिए ।