ललितपुर डढेलोमा परेर घाइते भएका अर्का एक जनाकाे पनि मृत्यु

ललितपुर, १९ वैशाख । ललितपुरकाे गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा ती घाइतेको मृत्यु भएको हो । आगो निभाउन गएका शङ्कर र रमेश पहरी गम्भीर घाइते भएका थिए । शङ्करको मङ्गलबार तथा रमेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

गोदावरी नगरपालिका–६,५,४,९,३,१०,२ बागमती गाउँपालिका–५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका–३ लुभु पातले सामुदायिक वनमा गएराति देखि आगलागी भएको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेन र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको उहाँले बताउनुभयो ।

यसैबीच, लेले जङ्गलमा लागेको डढेलो आनन्द वनमा फैलिएसँगै प्रहरी र स्थानीयको टोलीले त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका त्रियानब्बे जना बिरामीलाई बज्रबाराही अस्पताल स्थानान्तरण गरेका गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले जानकारी दिनुभयो । डढेलोमा फसेका १५ जनाको मङ्गलबार उद्धार गरिएको थियो ।