सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड

 

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौमा यातायात क्षेत्रका सरोकारवालाबीच आज भएको छलफलमा यातायातका साधनमा स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्ने सहमति भएको छ।
प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरूबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालनमा कडाइ गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रु राख्ने, भौतिक दुरी कायम गर्ने, बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।

बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारवाही गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारका अनु्सार भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने सम्बन्धमा छलफल भएको हो ।