पेरुमा किन असफल भयो क्रान्ति – आर शर्मा

maitrinews

दक्षिण अमेरिकी मुलुक पेरुमा क्रान्तिकारी कम्युनिस्ट नेता गोन्जालोको मृत्युसँगै एउटा क्रान्तिको अध्याय समाप्त भएको छ । त्यहाँको विद्रोही कम्युनिस्ट पार्टी अर्थात् साइनिङ पाथले गरेको क्रान्ति असफल भएर इतिहास बनेको हो । साइनिङ पाथले सशस्त्र विद्रोहमार्फत मुलुकको ८० प्रतिशतभन्दा बढी भूभाग कब्जा गरेको थियो । केन्द्रीय सत्ता र राजधानी लिमामात्र कब्जा गर्न बाँकी रहेका बेला संस्थापक नेता गोन्जालोसहित दोस्रो, तेस्रो र चौथो तहमा छ सयभन्दा बढी नेता पक्राउ परेपछि एकाएक विद्रोह तहसनहस भयो । तत्कालीन अल्वर्टो फुजिमोरी सरकारले गोन्जालोलाई आजीवन काराबासको सजाय दियो । अन्य नेताहरुले सरकारसमक्ष आत्मसमर्पण गरे । गोन्जालोको सेप्टेम्बर ११ मा ८६ वर्षको उमेरमा कारागारमै मृत्यु भयो ।
गोन्जालोको पूरा नाम अविमायल गुज्मन रेनोसो हो । उनी गोन्जालो उपनामले संसारभर चर्चित भए । दर्शनशास्त्रका प्राध्यापक उनले सन् १९९२ देखि कठोर आजीवन कारावासको सजाय भोगिरहेका थिए । गत जुलाईमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि उनलाई जेलबाट अस्पताल सारिएको थियो । पेरुमा सन् १९८१ देखि गोन्जालोको नेतृत्वमा चलेको एक दशकभन्दा लामो समय सशस्त्र द्वन्द्वका क्रममा झन्डै ७० हजार मानिस मारिएका थिए ।
गोन्जालो धनी बावुका छोरा थिए । पेरुको दक्षिणी किनार नजिकैको मोलेन्डो सहरमा सन् १९३४ डिसेम्बर ३ मा उनको जन्म भएको थियो । सानै छँदा गोन्जालोले आमा गुमाए । बावु धनाढ्य व्यापारी थिए । उनले नै गोन्जालोको पालनपोषण गरे । बाल्यकालमा गोन्जालोले अभाव महसुस गर्नु परेन । उनले एक निजी क्याथोलिन माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा पाएपछि अरेक्किपा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरे । त्यहाँ उनले जर्मन दार्शनिक इम्मानुयल कान्टबारे थेसिस गरेका थिए । विश्वविद्यालयको पढाइकै क्रममा उनी माक्र्सवादप्रति आकर्षित भए । सन् १९६२ मा उनी सान क्रिस्ट्रोल अफ हुवामान्गा राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक भए । सन् १९६५ मा चीन भ्रमणमा आएपछि उनी माओत्सेतुङबाट प्रभावित भए । पेरु फर्किएपछि उनी कम्युनिस्ट विचार राख्नेहरूसँग नजिक भए । सन् १९६९ मा गोन्जालोसहित ११ जनाले साइनिङ पाथ नामको कम्युनिस्ट पार्टी खोले । गोन्जालो आफु गरिब नभए पनि मुलुकमा व्याप्त गरिबी र असमानता देखेर उनले त्यसलाई अन्त्य गर्न सशस्त्र जनवादी क्रान्ति गरी कम्युनिस्ट सत्ता स्थापना गर्नुपर्ने निष्कर्षमा पुगे ।
देशको सामन्ती सरकारलाई ढालेर कम्युनिस्ट सरकार बनाउने लक्ष्यसहित गोन्जालोको पार्टीले सन् १९८१ देखि सशस्त्र विद्रोह सुरु गर्यो । पार्टीमा झन्डै १० हजार सदस्य लडाकु बने । विद्रोह उत्कर्षमा पुगेका बेला सन् १९९२ मा गोन्जालो र उनकी प्रेमिका इलेना इपरागुइरे पक्राउ परे । उनीहरूलाई सैनिक अदालतले आजीवन कारावासको सजाय तोक्यो ।
सन् १९८० मा पेरुको सैनिक सरकारले चुनाव घोषणा गरेपछि गोन्जालोमाथि दबाब बढ्यो । साइनिङ पाथले यो निर्वाचन बहिस्कार गर्ने मात्र होइन, हिंसात्मक गतिविधि गर्यो । हिंसाले उग्र रुप लियो । सरकार घुँडा टेक्ने अवस्थामा पुग्यो । सरकारले सङ्कटकाल घोषणा गर्यो । देशमा व्यापक दमनचक्र चल्यो । सन् १९९२ को सेप्टेम्बरमा गोन्जालोसहितका नेताहरु पक्राउ परे । तीन दिनसम्म सुनुवाइ चलेपछि गोन्जालोमाथि आजीवन जेल सजाय तोकियो । तत्कालीन राष्ट्रपति अल्बर्टो फुजिमोरीले केही महिनाअघि मात्रै कानुन संशोधन गरेर कडा बनाएका थिए । गोन्जालोलाई सान लोरेन्जो टापुस्थित जलसेनाको अखडामा लगेर थुनियो । सन् १९९३ अक्टोबरमा छ सयभन्दा नेता र कार्यकर्ताले सरकारसमक्ष आत्मसमर्पण गरेसँगै उनको पार्टी टुक्रा–टुक्रा भयो । तर पनि सन् १९९९ सम्म साइनिङ पाथका नाममा ससाना हिंसात्मक घटना भए । त्यसपछि भने साइनिङ पाथ विघटन भयो ।
सन् २००४ मा गोन्जालोमाथि अर्को लामो सुनुवाइ सुरु भयो । सन् २००६ मा उनीमाथि आतङ्कवाद र हत्याको आरोप लगाई फेरि आजीवन कारावासको सजाय सुनाइयो । उनले बाँकी जीवन इल काल्लाओस्थित सैनिक जेलको साँघुरो कोठामा बिताए ।
तत्कालीन सोभियत सङ्घमा कम्युनिस्ट सत्ता कमजोर भएका बेला पेरुमा सञ्चालित जनयुद्ध छोटो अवधिमा गाउँदेखि सहर घेर्ने सिद्धान्त बमोजिम केन्द्रीय सत्ता कब्जा गर्ने तहसम्म विकास भयो । राजधानी लिमा कब्जा गर्न चारैतिरबाट घेराबन्दी गर्ने सम्मको विकास गरिसकेर यो युद्ध केन्द्रीय सत्ता कब्जाको नजिक पुगिसकेको थियो । गोन्जालोसहितका उच्च नेताहरु एकाएक पक्राउ परेसँगै सरकारले देशव्यापी रुपमा भीषण दमनचक्र चलायो । नेतृत्वविहीन भएपछि विद्रोह तहसनहस भयो । पेरुको विद्रोह यसरी तहसनहस होला भनी धेरैले सोचेका थिएनन् ।
गोन्जालोको गिरफ्तारीले पेरुमा सम्भावित नयाँ जनवादी क्रान्ति विफल भयो । नेतृत्वको सुरक्षा गर्न नसक्नु साइनिङ पाथको कमजोरी रह्यो । त्यहाँ पार्टीभित्र वैचारिक विचलन पनि पैदा भयो । पुरानै तरिकाले सशस्त्र जनयुद्ध सञ्चालन जारी राख्ने कि शान्ति प्रक्रियामा पुगेर शान्तिपूर्ण जनसङ्घर्ष सञ्चालन गरेर क्रान्तिका लागि शक्ति सञ्चय गर्ने भन्ने विषयमा दुई लाइन सङ्घर्ष भयो । पार्टीको यो विवाद मिलाउन नसक्दा उत्कर्षमा पुगेको आन्दोलन एकएक समाप्त भयो ।
संसारभर सशस्त्र विद्रोहबाट सत्ता कब्जा गर्ने विषयमा कमजोर हुँदै गएको समयमा गोन्जालोले माओ र चे ग्वेभरा दुवैको विद्रोहलाई संयोजन गरेर विद्रोह गरेका थिए । उनको विद्रोह हिंसामा परिणत भयो । विद्रोहका क्रममा बम विस्फोट गराउनेदेखि व्यक्ति हत्या समेत भयो । त्यहाँ सशस्त्र विद्रोह उत्कर्षतर्फ जाँदै गर्दा विश्वका अन्य देशमा भने परिवर्तन हुन सुरु गरिसकेको थियो । कम्युनिस्ट शासन रहेका प्रमुख देशहरू तत्कालीन सोभियत सङ्घ र चीनमा ठूलो परिवर्तन भयो । चीनले आर्थिक उदारीकरणको बाटो लियो । रुसमा मिखाइल गोर्वाचोभको नेतृत्वमा पेरेस्त्रोइका (सुधार) र ग्लात्स्नोस्क (खुलापन) नीति अगाडि सारियो । अन्तत ः सन् १९८९ मा सोभियत सङ्घको विघटन भयो ।
उता सन् १९८१ देखि सुरु भएको पेरुको सशस्त्र विद्रोहले सन् १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरी जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर सशस्त्र विद्रोह बीचमा असफल भयो । सन् १९९९ सम्म छिटपुट विद्रोहका घटना भए । विद्रोह हाँक्ने नेतृत्व नभएपछि आन्दोलन समाप्त भयो । सशस्त्र विद्रोहबाट सत्ता कब्जा गरी जनवादी क्रान्ति गर्ने गोन्जालोको सपना बीचमै चकनाचुर भयो । पेरुको क्रान्ति ढलेयता विश्वमा कहीकतै पनि सशस्त्र विद्रोहमाफत् कही कतै कम्युनिस्ट सत्ता स्थापना भएन ।
लामो समयसम्म स्पेनको उपनिवेश बनेको पेरु स्वतन्त्र भएयता पनि पटक पटकको सैनिक सत्ता, सशस्त्र विद्रोह र राजनीतिक अस्थिरतको शिकार बन्दै आयो । सशस्त्र विद्रोह समाप्त भइसकेपछि पनि पेरुवासीका समस्या समाधान हुन सकेका छैनन् । यस पटक भने पेरुवासीले गरिब परिवारमा जन्मेका पेद्रो कास्टियालाई राष्टपति निर्वाचित गरे । उहाँले गरिब र पछिडिएका देशवासीको लागि नयाँ काम गररे सबैलाई न्याय र अवसर दिने बताउनुभएको छ । अब पेरुको समुदायका सबै क्षेत्र मिलेर एउटा समावेशी, निष्पक्ष र स्वतन्त्र पेरु बनाउने बेला आएकोले आफूले त्यसअनुरुप काम गर्ने कास्टियाको सोच छ । गरिबी, असमानता र भ्रष्ट्राचार पेरुका ठूला समस्या हुन् । जनतालाई विद्रोह गर्ने अवस्था आउन नदिन उहाँले समावेशी लोकतन्त्रको मूल्य र मान्यतालाई व्यवहारमा लागू गर्न जरुरी छ । आजीवन काराबासको सजाय भोगिरहेका विद्रोही नेता गोन्जालोको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने वातावरण उहाँले बनाइदिनुभयो । कास्टियोको सोच त गोन्जालोलाई कारागारमुक्त गर्नु थियो । त्यसका लागि कानुनी प्रक्रिया सुरु हुँदै थियो तर गोन्जालोको मृत्यु भएसँगै कानुनी पक्रिया पनि रोकियो ।
पेरुलाई गरिबी र असमानताबाट मुक्त गर्ने गोन्जालोको सपना थियो । त्यसैैका लागि उनले हतियार उठाए र तर हतियारको विद्रोह अन्ततः आत्मघाती सावित भयो । अब त्यहाँ हतियार उठाएर विद्रोह गर्ने अवस्था आउन नदिन लोकतान्त्रिक विधि अनुसार मुलुक चलाउन जरुरी छ । जनता अधिकार सम्पन्न र गरिबीमुक्त गर्ने हो भने विद्रोह गर्नुपर्ने अवस्था आउने छैन ।