संगीतकार सन्तोष श्रेष्ठको उत्पीडीतहरुको आवाज ‘फरैना’ सार्वजनिक
काठमाडौं संगीतकार सन्तोष श्रेष्ठको समाजिक उपन्यास ‘फरैना’ सार्वजनिक भएको छ ।
काठमाडौंको भृकुटी मण्डपमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच उपन्यास ‘फरैना’ सार्वजनिक गरिएको हो ।
समसामयीक बिषयमा लेखिएको फरैना थारु समुदायका कमैयाहरुको एक सशक्त र बुलंद आवाज हो । यही आवाज नै लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय श्रेष्ठको पहिलो उपन्यास हो ।
महिलाले भोग्नु परेको समस्यालाई उजागर गर्दै लेखिएको फरैनाका केही अंश वाचन गर्दै सांसद शान्ता चौधरीले आफ्नै कथा भएका बताइन् ।
उपन्यासमा मानवीय संवेदना र प्रकृतिको सुन्दर चित्रण गरिएको बताउदै गीतकार कृष्णहरि बरालले उत्पीडीतहरुको आवाज ‘फरैना’ बनेको बताए ।
नायक राजेश हमालले संवेदनालाई सरलीकरण गरिएको सुन्दर शैली फरैना उपन्यासको विशेषता भएको बताए ।
उपन्यासलाई आफ्नो संवेदनाको प्रतिरुपका रुपमा उभ्याएका लेखक सन्तोषले आफ्नो मानसपटलमा लामो समयदेखि सलबलाएको चेतनाले आख्यानको आकार ग्रहण गरेको बताए ।
२२७ पृष्ठमा लेखिएको फरैना इन्डिगो इन्कबाट प्रकाशित गरिएको छ भने उपन्यासको मूल्य ३९९ रुपैयाँ राखिएको छ ।