पहिराेका कारण ग्रामीण सडक बन्द हुँदा रसुवाको आलु अलपत्र
रसुवा : पहिराेले ग्रामीण सडकमा क्षति पुर्याएपछि उत्तरी रसुवाको ब्रावल तथा ठूलो स्याफ्रु क्षेत्रमा उत्पादित आलु स्थानीयस्तरमै अलपत्र परेको छ ।
निरन्तर आएकाे वर्षाले सानुभार्खु एवं ब्रावल खोल्छालगायत स्थानमा सडक अवरुद्ध भई सवारीसाधनको आवतजावत बन्द भएपछि व्यापारिक केन्द्रमा आलु ढुवानी गर्न समस्या उत्पन्न भएको हो ।
स्याफ्रु ब्रावलका आलु उत्पादक किसान सिङ्गबहादुर तामाङका अनुसार सडक अवरुद्ध हुँदा बिक्रीका लागि तयार गरिएको २० ट्रकभन्दा बढी आलु स्थानीयस्तरमै अलपत्र परेको हो । बजार मूल्यअनुसार ४० लाखभन्दा बढीको आलु ढुवानी हुन नसक्दा दर्जनौँ किसानलाई समस्या परेको छ ।
दसैँ नजिकँदै गएको र आलु बिक्रीबाट प्राप्त आयले चामल खरिद गर्नुपर्ने बाध्यता रही आएका कारण ग्रामीण सडक सुचारू गरी दिन सरोकारवाला निकायसँग आग्रह गरिएको कृषक तामाङले बताउनुभयो ।
उत्तरी रसुवाको ब्रावल तथा ठूलोस्याफ्रुमा धान उत्पादन हुदैन । यहाँ कोदो, मकै, फापर जस्ता कृषिजन्य खाद्यान्न र तरकारीतर्फ, रायो साग, मुला, बन्दा, सिमी, काउली एवं फलफूलतर्फ स्याउ उत्पादन हुने गरेको छ ।