रुसको चेतावनी: लिबिया र बाल्टिकमा भएका आक्रमणपछि युक्रेनलाई ‘कडा परिणाम’ भोग्नुपर्ने

काठमाडौं । मस्कोले लिबियाको बेनगाजी बन्दरगाह र बाल्टिक सागरमा रुसी पोतहरूमाथि भएका ड्रोन आक्रमणको निन्दा गर्दै युक्रेनलाई ‘पीडादायी परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले यसलाई तनाव बढाउने ‘अत्यन्त खतरनाक प्रवृत्ति’ भनेका छन्।

के–के भयो?

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले लिबियाको बेनगाजी नौसेना अड्डामा रुसी कर्भेट ‘मर्कुरी’ डुबाएको र हतियार ढुवानीमा प्रयोग भएको भनिएको कार्गो पोत ‘एमभी अंगारा’मा आक्रमण गरेको दाबी गरेका छन्। उनले यसका लागि सात युक्रेनी निर्मित समुद्री ड्रोन प्रयोग भएको बताएका थिए।

त्यसअघि शनिबार बाल्टिक सागरको फिनल्यान्डको खाडीमा रुसी कार्गो पोत ‘स्पार्टा टु’मा ड्रोन आक्रमण भई आगलागी भएको थियो। फिनल्यान्डी सेनाले यो आक्रमण सम्भवतः युक्रेनले गरेको आकलन गरेको छ, तर किभले सार्वजनिक रूपमा जिम्मेवारी लिएको छैन।

रुसको प्रतिक्रिया

पेस्कोवले रक्षा मन्त्रालयले यस विषयमा काम गरिरहेको र आवश्यक ठानेमा विस्तृत जानकारी सार्वजनिक गर्ने बताए। उनले रुसले युक्रेनको सैन्य पूर्वाधारमा दैनिक ठूला आक्रमण जारी राख्ने र यसको परिणाम किभका लागि ‘पीडादायी’ हुने बताएका छन्।

बाल्टिक क्षेत्रमा भएको आक्रमणले तनाव बढाएको भन्दै उनले बाल्टिक राष्ट्रहरूलाई युक्रेनलाई यस्ता ‘आतंकवादी गतिविधि’ रोक्न दबाब दिन आह्वान गरे।

लिबियामा विवाद

लिबियाको पूर्वी प्रशासनले यी आक्रमणले देशको सार्वभौमसत्ता उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्रसंघमा जाहेरी दर्ता गरेको छ। उसले लिबियामा युक्रेनी सैनिक उपस्थित भएको आशंकासहित अन्तर्राष्ट्रिय अनुसन्धानको माग गरेको छ।

संयुक्त राष्ट्रसंघीय सहयोग मिसन (यूएनएसएमआईएल)ले पनि आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल, स्वतन्त्र र पारदर्शी अनुसन्धानको माग गरेको छ। संस्थाले लिबिया विदेशी द्वन्द्वको मैदान बन्न नहुने भनेको छ।

यी घटनाहरू युक्रेनले रुसी नौसेनिक सम्पत्ति तथा पश्चिमी प्रतिबन्ध चक्र्न प्रयोग हुने रुसको तथाकथित ‘श्याडो फ्लिट’सँग जोडिएका पोतहरूलाई लक्षित गर्ने अभियान तीव्र बनाएको सन्दर्भमा आएका हुन्।

नोभेम्बरमा मात्र कम्तीमा चार रुसी पोत लक्षित भएको बताइएको छ, जसमा ‘मर्कुरी’, ‘एमभी अंगारा’ र ‘स्पार्टा टु’ पर्छन्। विज्ञहरूका अनुसार यस्ता आक्रमणले रुसको समुद्री आपूर्ति र सैन्य लगिस्टिक्समा थप दबाब पार्न सक्छन्।

कालिनिनग्रादको चिन्ता

आक्रमणका बीच रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तिनले कालिनिनग्रादसम्म सामान ओसारपसार निरन्तर राख्न दुई रेल फेरी निर्माणका लागि ४७ अर्ब रुबल (करिब ५७ करोड अमेरिकी डलर) खर्च गर्ने घोषणा गरेका छन्। यी फेरी २०३० मा उस्त–लुगा र बाल्टिस्कबीच सञ्चालनमा आउने अपेक्षा छ।

युक्रेन युद्ध र प्रतिबन्धका कारण युरोपेली संघको नियमअनुसार लिथुआनियाले रुसबाट कालिनिनग्राद जाने सामानको पारगमन सीमित गरेपछि यो रुसी एक्सक्लेभ समुद्री मार्गमा अत्यधिक निर्भर बनेको छ।

परमाणु धम्कीको भाषा

रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले रुससँग आफ्नो रक्षाका लागि उपलब्ध सबै साधन—परमाणु हतियारसमेत—प्रयोग गर्ने अधिकार र कतिपय अवस्थामा कर्तव्य रहेको दाबी गरेका छन्। तर उनले युक्रेन र नाटो देशहरूको ‘उक्साइ’ बढिरहे पनि हालसम्म परमाणु हतियार प्रयोगको ‘प्रत्यक्ष आवश्यकता’ नदेखिएको स्वीकार गरेका छन्।

लिबिया र बाल्टिकमा भएका आक्रमणले युद्धको भौगोलिक विस्तारको जोखिम बढाएको छ, जसले अन्तर्राष्ट्रिय समुद्री यातायात र क्षेत्रीय सुरक्षालाई थप चुनौतीमा पार्न सक्ने चिन्ता व्यक्त भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *