पचली भैरवको जात्रा

काठमाडौंको तल्लो भेगमा ऐतिहासिक त्यप आजु जात्राको तयारी

काठमाडौं, ७ असोज । हरेक वर्ष दशैंको बीच काठमाडौं नगरको तल्लो भेगमा अत्यन्त धुमधामपूर्वक मनाइने पचिमह्रः जात्रा यो वर्ष अझ व्यवस्थित रुपले मनाइने भएको छ ।

काठमाडौंको टेकू दोभानमा रहेको पचली भैरवको जात्रालाई पचिमह्रः वा त्यप आजुको जात्रा भनिन्छ । यो हरेक वर्ष मोहनि (दशैं) को पञ्चमीको राति यो जात्रा मनाउने गरिन्छ ।

उक्त जात्रालाई व्यवस्थित गर्न यस वर्ष काठमाडौं महानगरपालिकाले सहजकर्ताको भूमिका निर्वाह गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको सभापतित्वमा विहीवार बसेको जात्रा व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै उपमेयर डंगोलले जात्रा सञ्चालनको लागि काठमाडौं महानगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गर्ने बताउनुभयो । प्रमुख अतिथिका रुपमा आउनुभएका कामपाका मेयर बालेन शाहले पचली भैरवको जात्रालाई पनि इन्द्रजात्रा जस्तै नै महत्व दिएर मनाउनुपर्ने बिचार राख्नुभएको थियो ।

काठमाडौंको तल्लो भेगमा रहेको टेकूबाट शुरु भई लगन, जैसी देवल, कोहिटी, हिउमत, वन्दे, भिमसेनथान हुँदै हनुमानढोका दरवार क्षेत्रसम्म यो जात्रा सञ्चालन हुने गर्दछ ।

दश दिनसम्म सञ्चालन हुने मोहनि (दशैं) पर्वको सबैभन्दा प्रमुख चाड विजय दशमी भए पनि काठमाडौंको तल्लो भेगमा भने पचली भैरवको जात्रा हुने दिन पञ्चमी नै मोहनिको प्रमुख पर्व मानिन्छ । यो भेगमा छोरीबेटीलाई नखत्या बोलाउने काम समेत यही दिन गरिन्छ ।

लिच्छविकालमा काठमाडौं नगरलाई माथिल्लो भेग र तल्लो भेग गरी दुई क्षेत्रमा विभाजन गरिएको थियो । माथिल्लो भेगलाई ‘थःने’ वा कोलिग्राम भनिन्छ भने तल्लो भेगलाई ‘क्वःने’ वा दक्षिण कोलिग्राम भनिन्छ ।

काठमाडौंमा चलाइने इन्द्रजात्रा, जनबहाःद्यःको जात्रा जस्ता प्रमुख जात्राहरु यी दुवै क्षेत्रलाई छुने गरी सञ्चालन गर्ने परम्परा रहँदै आएको छ । त्यस बाहेक माथिल्लो भेगमा मात्र मनाइने र तल्लो भेगमा मात्र मनाइने छुट्टाछुट्टै जात्राहरू पनि रहेका छन् । त्यस मध्ये पचली भैरवको जात्रा तल्लो भेगमा मात्र मनाइने यहाँको मौलिक जात्रा हो ।

पचली भैरवको जात्रा मूलतः तान्त्रिक विधिले पूजा गरिएको जाँडले भरिएको त्यप (घ्याम्पो) को जात्रा हो । उक्त घ्याम्पोलाई नै ‘त्यप आजु’ भनिन्छ । उक्त घ्याम्पोलाई दिनभरि पचली भैरवको मन्दिरमा राखिन्छ ।

राति भएपछि एक जना गुठीयारले त्यप उठाउँछन् र बाजागाजा सहित जात्रा चलाइन्छ । यो जात्रा हुँदा राज्यका तर्फबाट गुर्जुको पल्टन पनि साथमा आउने गर्दछ ।

पहिले पहिले राति जात्रा चलाइने भए पनि हाल केही वर्षदेखि भने व्यावहारिकता र सुरक्षा व्यवस्थालाई समेत ध्यानमा राखी साँझसम्म जात्रा सम्पन्न गर्न थालिएको छ ।

किंवदन्ती अनुसार पचली भैरवलाई फर्पिङको राजा भन्ने गरिन्छ । उनी हरेक रात ज्यापूको भेषमा काठमाडौंकी एक कसाइँनी महिला (नैं) लाई भेट्न आउने गर्दथे । एक दिन कसाइँनीलाई भेटेर फर्कन ढिलो भई बिहान उज्यालो भएकाले मानिसहरुले देख्ला भनी उनी त्यहींको झ्याङमा लुक्न गए । र, झ्याङमै सिद्ध हुन पुगे ।

त्यसपछि पचली भैरवलाई पचली आजु र कसाइँनीलाई नैं अजिमा कहलाउन थाले । पचली भैरवको कथामा ज्यापू र कसाइँनी (नैं) को प्रशंग आए जस्तै अहिले पनि यो जात्रामा ज्यापू समुदाय र नैं–नायः समुदायको विशेष सहभागिता रहँदै आएको पाइन्छ ।

दशैंताका काठमाडौंको तल्लो भेगमा पचली भैरवको घ्याम्पो जात्रा चलाए जस्तै यही बेला फर्पिङमा पनि घ्याम्पो जात्रा चलाउने परम्परा रहँदै आएको छ । यसले पनि यी दुई जात्राहरूका बीच कुनै सम्बन्ध भएको दर्शाउँदछ ।

यो वर्ष यही आउँदो असोज १४ गते पचली भैरवको जात्रा चलाउने तयारी भइरहेको छ ।
हरेक १२ वर्षमा पचली भैरवको नाच पनि निकाल्ने परम्परा रहेको छ । सोही नाचका बेला काष्ठमण्डपको भुतिसतलमा राजासँग पचली भैरवले खड्ग साट्ने गर्दछ । पचली भैरवसँग खड्ग साट्नाले राजाको शक्ति वृद्धि हुने विश्वास गरिन्छ ।