काठमाडौंको भित्री बजार सुक्ने चिन्ता

काठमाडौं, ९ असोज । काठमाडौं महानगरपालिकाले बजार व्यवस्थित गर्ने नाममा काठमाडौंको भित्री शहरमा रहेका असन, इन्द्रचोक, नयाँ सडक जस्ता पुरानो बजारमा पार्किङ नराख्ने र चारपाङ्ग्रे सवारी साधनलाई पनि प्रवेश निषेध गर्नाले ती बजारहरु अब सुक्दै जाने हो कि भन्ने चिन्ताले स्थानीय व्यवसायीहरुलाई चिन्तित बनाएको छ ।

असन, नयाँ सडक क्षेत्रमा आजैदेखि लागू हुने गरी चारपाङ्ग्रे सवारी साधन निषेध गरी खुलामञ्चमा पार्किङको व्यवस्था गर्ने निर्णय काठमाडौं महानगरपालिकाले गरेको छ । दशैं अवधिभरि अब खुलामञ्चमै पार्किङ राख्ने महानगरको योजना छ ।

स्मरणीय छ, केही समय अघि खुलामञ्चमा वीर अस्पताल र दरवार स्कुल निर्माणका क्रममा ती भवनहरुको निर्माण सामग्री राख्दा सम्पदाप्रेमीहरुले ‘खुलामञ्च खुला गर !’ भन्ने नाराका साथ काठमाडौं महानगरपालिका विरुद्ध अभियान चलाएको थियो ।

उता काठमाडौंको पुरानो असन बजारमा स्थानीय व्यवसायीहरुकै पहलमा राखिएको व्यवस्थित पार्किङमा पनि महानगरले हस्तक्षेप गर्न थालेपछि व्यवसायीहरु पार्किङ व्यवस्थापनबाट पछि हटेको छ ।

आफूहरुले व्यवस्थित गरेको पार्किङमा राखिएका मोटरसाइकलहरु समेत महानगरको गाडीले उठाएर लान थालेपछि आफूहरु पछि हटेको स्थानीय व्यवसायी एवं असन बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष यज्ञरत्न तुलाधरले बताउनुभयो ।

व्यवसायीहरुले पार्किङ व्यवस्थापन गर्न छोडेपछि असनमा अहिले झन् जथाभावी मोटरसाइकलहरु रोक्ने क्रम बढेको छ ।

असनको चारैतिर सडकमा राखिएका पसलहरू हटाउने र अहिले पार्किङ पनि राख्न नदिने महानगरको नीतिले आफूहरुको दशैं बजार प्रभावित हुन सक्ने चिन्ता पनि स्थानीय व्यवसायीहरुमा पलाउन थालेको तुलाधरले बताउनुभयो ।

‘दशैं बजार मात्र होइन, यसले त असन बजारलाई नै सुकाइदिने हो कि भन्ने चिन्ता समेत आइसकेको छ,’ तुलाधरले बताउनुभयो ।

उहाँले प्रश्न गर्नुभयो, ‘आजकाल बजार आउनेहरू सबैजसो मोटरसाइकलमै आउने गर्छन्, पार्किङमा रोकिराखेको मोटरसाइकलै उठाएर लगिदियो भने भोलि को आउला र असनमा किनमेल गर्न ?’

यो विषयमा महानगरपालिकाले व्यवसायीहरुसँग कुरा गर्छु भने पनि त्यसको लागि कुनै पहल भने नभएको गुनासो पनि व्यवसायीहरूले गरेका छन् ।

सामाजिक सञ्जालमा असन बजारबारे विचार प्रकट गरिरहेका कतिपय विज्ञहरुले भने अत्यधिक पसल र एकै ठाउँमा धेरै वस्तुहरु बेचिने भएकोले यहाँ हुने भिडम्भिड र ठेलमठेल नै ऐतिहासिक असन बजारको मौलिक पहिचान बनिसकेको स्मरण गरेका छन् ।

यो पहिचानमा खलल पुगे असन बजारको व्यापार–व्यवसाय प्रभावित हुन सक्ने चिन्ता पनि उहाँहरूले व्यक्त गर्नुभएको छ ।