चिडियाखानामा बढे अवलोकनकर्ता

काठमाडौँ, ९ असाेज । काठमाडौँको जावलाखेलमा रहेको सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास पनि हट्दै गएकाले चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको चिडियाखाना प्रशासनले जनाएको छ ।

हिजो आज दैनिक कम्तीमा पनि एक हजार पाँच सयसम्म सदर चिडियाखाना अवलोकन गर्न आउने गरेको सदर चिडियाखाना प्रमुख रचना शाहले बताउनुभयो ।

अवलोकनकर्ता बढेसँगै चिडियाखाना प्रशासनले अवलोकनकर्तालाई अनिवार्यरुपमा स्वास्थ्य मापदण्ड पालना गराउने गरेको छ ।

अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने नियम बनाएको बताइएको छ ।

हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीव जनावर राखिएका प्रमुख शाहले बताउनुभयो ।

उहाँका अनुसार चिडियाखानामा मुख्य आकर्षणका रुपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) रहेका छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् ।

नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखाना अवलोकन गर्न विदेशीलाई रु एक हजार, सार्क राष्ट्रका पाहुनालाई रु पाँच सय, नेपालीलाई रु दुई सय, विद्यार्थीलाई रु एक सय ३५ र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको चिडियाखाना प्रशासनले जनाएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमसेर जङ्बहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रुपमा स्थापना गर्नुभएको हो ।

विसं २०११ बाट सर्वसाधरणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियाे ।