शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक

काठमाडाैं, १ कार्तिक । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्द रहेकाे गीत`माया रानीलाई´सार्वजनिक भएकाे छ ।

विश्वकीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा `माया रानीलाई´ सार्वजनिक गरिएको हाे ।

शताब्दी पुरुषसँग साङ्गीतिक सहकार्यको क्रममा वि.सं. २००१ मा लेख्नुभएको गीत ‘माया रानीलाई’ ७८ वर्षपछि रेकर्ड गरी हामी भिडियो निर्माणको क्रममा थियौँ ।

उहाँ अस्वस्थ हुनुभएकोले हामी शीघ्र स्वास्थ्यलाभको कामना गरेर बसेका थियौँ । तर, दुर्भाग्य ! गीत रिलिज हुन नपाउँदै उहाँको असामयिक निधन भयो । हामी स्तब्ध भयौँ । उहाँप्रति हार्दिक श्रद्धासुमन !

वाङ्मय शताब्दी पुरुषको गीतको यो पहिलो भिडियो हो । श्रब्यदृष्य तयार गरेर उहाँलाई देखाएपछि सार्वजनिक गर्ने इच्छा हुँदाहुँदै एउटा सपना अधुरै रहेकोे संगीतकार श्रेष्ठले जानकारी गराए ।

राज पोखरेल र प्रकाश अर्यालको छायाङ्कनलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् भने हेमप्रभास अधिकारीले निर्देशन गरेका छन् । `माया रानीलाई´ गोल्डेन क्रियशनको च्यानलबाट सार्वजनिक गरिएको छ ।