होटल तथा रेष्टुरेन्ट सञ्चालकले मेनुमा सेवा शुल्क र भ्याट जोड्न नपाइने

काठमाडाैं, ४ कात्तिक । अब होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूले मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाइने भएकाे छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै होटल व्यवसायीहरूलाई मेनुमा उल्लेख भएबाहेक उपभोक्ताबाट अतिरिक्त रकम नउठाउन सचेत गराएको हो।

‘सबै होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीले उपभोक्ता मेनुमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्क तथा कर रकमसहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्नुहुन र सो मूल्यमा कुनै अतिरिक्त मूल्य नलिनुहुन सुचित गरिन्छ’ विज्ञप्तीमा भनिएको छ।

होटल तथा रेष्टुन्टुरेन्टले अतिरिक्त सेवा शुल्कका नाममा रकम लिने गरेको गुनासो आएकाले विभागकाे ध्यानाकर्षण भएकाे थियाे ।

विभागले सूचना पालना नगरेमा होटल तथा रेष्टुरेन्टलाई नियमअनुसार कारबाही हुने विभागबाट जारी विज्ञप्तीमा उल्लेख छ।