संस्कृतिविद् एवं समाजसेवी प्रा. सुवर्ण शाक्यलाई सम्मान
काठमाडौं, ७ कात्तिक । ८७ बर्षीय प्रा. सुवर्ण शाक्य सामाजिक क्रान्ति नै गर्ने एक बौद्ध विद्धान एवं बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्छ । गत एक दशकदेखि हरेक वर्ष लक्ष्मीपूजाका दिन आफूले लेखेको एक नयाँ पुस्तक विमोचन गर्दै आइरहनुभएका बौद्ध विद्वान एवं वरिष्ठ साहित्यकार सुवर्ण शाक्यको यस वर्षको लक्ष्मीपूजा भने खाली रह्यो । केही समय अघि भएको हृदयाघातका कारण भने यो वर्ष उहाँले कुनै पुस्तक तयार गर्न सक्नुभएन । गएको केही महिनादेखि उहाँ घरमै लामो आराममा रहनुभएको छ । तथापि, आजका दिन पनि उहाँलाई खाली महसुस भने गर्न दिइएन । हरेक वर्ष आजैका दिन उहाँको नयाँ पुस्तक प्रकाशन गर्दै आइरहेको ४० बर्ष पुरानो संस्था ओलम्पस क्लबले आज उहाँलाई ओमबहालमा एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ । उक्त कार्यक्रममा उहाँलाई काठमाडौं महानगरका विभिन्न संघ संस्था तथा स्थानीयहरुले समेत सम्मान गरेका छन् ।
ओलम्पस क्लबका अध्यक्ष एवं नेवाः देय् दबूका पनि अध्यक्ष पवित्र वज्राचार्यको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा वरिष्ठ साहित्यकार शाक्यलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै भाषिक अभियन्ता एवं मानवाधिकारवादी नेता मल्ल के. सुन्दरले साहित्यकार शाक्यको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्नुभयो ।
कुनै बेला शाक्य नेपालभाषामा नाटक लेखी चोक चोकमा सार्वजनिक प्रदर्शन पनि गर्नुहुन्थ्यो । उहाँका नाटकहरू अत्यन्त लोकप्रिय हुने गर्दथे । उहाँले नेपालभाषा र नेपाली भाषामा थुप्रै साहित्यिक रचनाहरू पनि प्रकाशन गर्नुभएको छ । त्यति मात्रै होइन, उहाँ बौद्ध धर्मका एक ज्ञाता पनि हुनुहुन्थ्यो । यस क्षेत्रमा पनि उहाँले धेरै कलम चलाउनुभएको छ । धेरै वर्ष प्राध्यापन कार्यमा संलग्न रहनुभएका शाक्यलाई युवा पुस्ताका धेरै साहित्यकारहरू आफ्नो प्रेरणाको स्रोत मान्दछन् ।
त्यस्तै नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४३ का अध्यक्ष प्रा.डा. नरेशमान वज्राचार्यले पनि साहित्यकार शाक्यको व्यक्तित्वमाथि प्रकाश पार्नुभयो । खास गरी प्रा. बज्राचार्यले दुईवटा विषयमा उहाँको योगदानको चर्चा गर्नु भयो । उहाँले शाक्य बज्राचार्य कसैले अतरजातिय विवाह गर्यो भने त्यस्ता व्यक्ति बाट जन्मेका सन्तानलाई संघको सदस्यबाट हटाइन्थ्यो र कुनै पनि गुठि परम्परामा समावेश गरिदैन थियो । त्यस्तो कुरुतिविद्ध प्रा. शाक्यले उ बेला नै आवाज उठाएर अन्तरजाति विवाहबाट जन्मेका सन्तानलाई पनि बरेछुइ(व्रतबन्ध) गरेर आफ्नो समाजको संघको सदस्यको रुपमा निरन्तरता दिने चलन चलाउनु भयो । उहाँले एक सामाजिक क्रान्ति नै गर्नु भयो ।
यस्तै उहाँले आज भन्दा करीब ६० बर्ष अघि नै नाटकहरु ठाउँ ठाउँमा प्रदर्शन गर्नु भई सामाजिक जागरण ल्याउनु भयो । उहाँका ती दुई वटा क्रान्तिकारी कदम सबैका लागि उदाहरणीय बनेका प्रां बज्राचार्यले बताउनु भयो । यस्तै उहाँले नेपाल सम्बवत्को नयाँ बर्षको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना दिनु भयो ।यस्तै शाक्यले नेपालको थेरवादी बुद्ध धर्मको क्षेत्रमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको विचार प्रा.डा. वज्राचार्यले व्यक्त गर्नुभयो ।
कार्यक्रममा उहाँले लेख्नु भएको गीत पनि सुनाईएको थियो । यस्तै नयाँ कलाकार उजं शाक्यले उहाँको नेपालभाषाको गीत प्रस्तुत गर्नु भएको थियो । उहाँलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।
वृद्ध उमेरमा पनि भाषा, साहित्य, बुद्ध धर्म, शिक्षा, समाजसेवा र संस्कृतिको क्षेत्रमा सक्रिय रहनुभएका शाक्य गत वर्षदेखि भने अस्वस्थताका कारण निवासमै आराम गरिरहनुभएको छ । उक्त कार्यक्रममा विभिन्न पार्टीका नेताहरु, स्थानीय जनप्रतिनिधिहरु, संस्कृतिविद्, साहित्यकारहरु लगायत समाजमा रहेका विभिन्न बरीष्ठ व्यक्तित्वहरु पनि उपस्थित भएका थिए ।