नवलपरासीका किसानलाई चिन्ता छैन सुन्तलाकाे बजार खाेज्न

नवलपरासी, १३ कात्तिक । नवलपरासीका सुन्तला किसानलाई यसपटक बजारकाे चिन्ता हटेको छ । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने किसानलाई यसपटक भने बजारकाे चिन्ता हटेकाे हाे ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । उहाँको अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा खुसी हुनुहुन्छ ।

व्यापारीले बगैँचाबाटै सुन्तलाको मूल्य गरी खरिद गरेपछि उहाँलाई सुन्तलाले बजार पाएन भन्ने चिन्ता यसपटक हटेको छ । “पहिले सुन्तला पाकेपछि कहाँ लैजाने भन्ने हुन्थ्यो, अहिले बोटबाट टिपेपछि, यहीबाट जोखेर व्यापारीले लैजाँदा बजारको समस्या हटेको छ”, उहाँले भन्नुभयो, “यसले बेच्ने समस्या हटेको छ, हामी खुसी छौँ ।”

नवलपुरको बबक सुन्तला खेतीका लागि जिल्लाको प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरै–थोरै सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौवारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ ।

अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षमा बजारका समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने कतिपयले फोनको भरमा सुन्तला माग गरेपछि किसानले टिपेर पठाइदिने गरेका छन् । यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ ।

सुन्तला बिक्रीमा अहिले समस्या नभएको र कावासोती, नारायणगढलगायतका व्यापारीले गाउँबाटै खरिद गरिदिँदा किसानलाई सहजता भएको सुन्तला किसान गेसबहादुर रानाले बताउनुभयो । व्यापारीको मागअनुसार स्थानीयरूपमा सुन्तला सङ्कलन गरी गाडीमा राखेर बजारसम्म पुर्याएमात्रै हुने उहाँले बताउनुभयो ।

किसान आफैँले सुन्तला बजारमा पुर्याउँदा मूल्य निर्धारण कति हुने, कुन ठाउँ लैजाने भन्ने चिन्ता हुने गरेकामा गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउने गरेको उहाँको भनाइ छ । गाउँका विभिन्न स्थानमा स्थानीय व्यक्तिले सुन्तला सङ्कलन गरी सोही ठाउँबाट खरिद बिक्री गर्दै आएका छन् ।

बबकका सुन्तला किसानले अहिले प्रतिकिलो रु ५५ का दरले सुन्तला बगैँचाबाट बिक्री गर्दै आएका छन् । यो मूल्य राम्रो भएको सुन्तला किसान गेसबहादुर रानाले बताउनुभयो । गत वर्षभन्दा राम्रो मूल्य किसानले प्राप्त गरेको उहाँको भनाइ छ ।

यस वर्ष गत वर्षभन्दा सुन्तलाको फलसमेत राम्रो लागेको किसानको भनाइ छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख विष्णु शर्माले बताउनुभयो ।

गत वर्ष एक हजार २० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष २० प्रतिशतले उत्पाद बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाका पहाडी क्षेत्रका विभिन्न वडा समेटेर सुन्तला जोन कार्यक्रमसमेत सञ्चालन गरिएको छ । जसअन्तर्गत किसानलाई प्राविधिक सहयोग साथै विभिन्न अनुदान प्रदान गर्ने गरिएको छ । यसले पनि सुन्तला उत्पादन बढाउन सहयोग पुगेको उहाँको भनाइ छ ।