नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडाैं, १५ कात्तिक । मंगलबार नेप्से उच्च अंकले वृद्धि भएकाे छ । नेप्सेमा पछिल्लो साढे ३ महिना यताकै उच्च अंकले वृद्धि भएकाे हाे ।

यस दिन नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ११.२८ अंक बढेको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस दिन २३१ स्टकको २७ हजार ९३२ पटकको कारोबारमा १ अर्ब २९ करोड ६ लाख रुपैयाँ बराबरको ३९ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

मंगलबार न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २६ रुपैयाँ २० पैसा बढेर २८८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।