जलवायु सुरक्षालाई नागरिकको अधिकारका रूपमा स्थापित गर्दै कार्यवाहक प्रमुख डंगोलबाट सातबुँदे काठमाडौँ जलवायु घोषणा जारी
काठमाडौँ जलवायु कार्य सप्ताह
काठमाडौँ, १३ मङ्सिर । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनका असर न्यूनीकरण, जोखिममा रहेका समुदायको संरक्षण तथा सहरलाई जलवायु उत्थानशील बनाउने सातबुँदे प्रतिबद्धतासहित ‘काठमाडौँ जलवायु घोषणा, २०८३’ जारी गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा मङ्सिर ७ देखि १३ गतेसम्म सञ्चालित काठमाडौँ जलवायु कार्य सप्ताहको अन्तिम दिन आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले सप्ताहव्यापी छलफल, अन्तरक्रिया, कार्यमूलक अभ्यास र अनुभवबाट प्राप्त निष्कर्षलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतासहित घोषणा जारी गर्नुभएको हो ।
घोषणाले जलवायु परिवर्तनलाई वातावरणीय समस्यामा मात्र सीमित नराखी सामाजिक न्याय, मानव अधिकार, सार्वजनिक स्वास्थ्य, सहरी विकास र भावी पुस्ताको भविष्यसँग जोडिएको साझा चुनौतीका रूपमा व्याख्या गरेको छ । जलवायु परिवर्तनका कारण बढ्दै गएका बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत सङ्कट, वायु प्रदूषण तथा प्राकृतिक र सांस्कृतिक सम्पदामाथिको जोखिम सम्बोधन गर्न स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समावेशी सहभागिता र साझा जिम्मेवारीलाई प्राथमिकता दिइएको छ ।
जलवायु न्यायलाई घोषणाको मूल आधार बनाउँदै जलवायु परिवर्तनको असर सबैले भोगे पनि त्यसमा योगदान र सामना गर्ने क्षमता समान नरहेको यथार्थलाई स्वीकार गरिएको छ । विकसित राष्ट्रको जिम्मेवारी, विकासशील मुलुकको आवश्यकता र जोखिममा रहेका समुदायको अधिकारलाई सम्बोधन गर्दै जलवायु कार्यलाई साझा चुनौतीको साझा समाधानका रूपमा अघि बढाउने प्रतिबद्धता गरिएको छ ।
घोषणाले जलवायु परिवर्तनको दीर्घकालीन प्रभावसँग जोडिएको भावी पुस्ताको सरोकारलाई विशेष महत्त्व दिएको छ । विद्यालय तहदेखि नै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, दिगो विकास, हरित सहर र फोहरमैला व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रतिबद्धता गरिएको छ । नीति निर्माण, निर्णय प्रक्रिया र जलवायु समस्याको समाधानमा बालबालिका, युवा तथा विभिन्न पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्ने विषयलाई पनि घोषणामा समेटिएको छ ।
त्यसैगरी, प्रकृतिमैत्री विकास र प्रकृतिमा आधारित समाधानलाई सहरी विकासको अभिन्न आधार बनाउने उल्लेख छ । पूर्वाधार निर्माण तथा आर्थिक विकासका नाममा नदी, खोला, वन, सिमसार, खुला क्षेत्र र जैविक विविधतामाथि पर्ने दबाब न्यूनीकरण गर्न रैथाने ज्ञान, सीप र सामुदायिक क्षमताको उपयोग गरिनेछ । विकासका योजना तथा आयोजनामा जलवायु जोखिम मूल्याङ्कन, वातावरणीय संवेदनशीलता र दीर्घकालीन प्रभावलाई अनिवार्य रूपमा समेट्ने प्रतिबद्धता पनि गरिएको छ ।
काठमाडौँ उपत्यकाको विशिष्ट भौगोलिक, प्राकृतिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्नु घोषणाको अर्को महत्त्वपूर्ण पक्ष हो । अव्यवस्थित सहरीकरणसँगै बढ्दै गएको सहरी तापक्रम, वायु प्रदूषण, बाढी, डुबान र खानेपानीको चुनौती सामना गर्न एकीकृत कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।
यसका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, आकाशे पानी सङ्कलन, ‘रिचार्ज काठमाडौँ’ अभियान, नदी तथा खोलाको पुनर्जीवन र हरित क्षेत्र विस्तारलाई प्राथमिकतामा राखिएको छ । हिटी, पोखरी, राजकुलो तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै सफा टेम्पो र विद्युतीय बसजस्ता वातावरणमैत्री सार्वजनिक यातायातको प्रवर्द्धन तथा विपद् पूर्वतयारीलाई पनि जलवायु अनुकूलनका प्रमुख उपायका रूपमा अघि सारिएको छ ।
जलवायु कार्यलाई सम्मेलन, नीति र घोषणापत्रमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवनसँग जोड्नुपर्ने घोषणाको अर्को प्रतिबद्धता छ । स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण, सार्वजनिक यातायात, हरित पूर्वाधार, पानीको मितव्ययी उपयोग र दिगो उपभोगलाई सहरी नीति, योजना, बजेट तथा कार्यक्रमको अभिन्न हिस्सा बनाइनेछ । विपद् आउनुअघि तयारी गर्ने, जोखिम घटाउने र क्षतिपछि पुनःस्थापना गर्न सक्ने संस्थागत क्षमता विकासमा पनि जोड दिइएको छ ।
जलवायु परिवर्तनको असर सबै समुदायमा समान रूपमा नपर्ने भएकाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय, अनौपचारिक बस्तीका बासिन्दा तथा जोखिममा रहेका अन्य समूहको आवश्यकता र आवाजलाई जलवायु नीति तथा कार्यक्रममा प्राथमिकता दिने घोषणा गरिएको छ । स्थानीय ज्ञान, परम्परागत सीप, रैथाने खाना, दिगो खाद्य प्रणाली, वैज्ञानिक अनुसन्धान र नयाँ पुस्ताको सिर्जनशीलतालाई एकीकृत गर्दै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता गरिएको छ । घोषणाले जलवायु सुरक्षालाई सुविधा नभई प्रत्येक नागरिकको अधिकारका रूपमा स्थापित गर्ने अवधारणा अघि सारेको छ ।
घोषणाको अर्को महत्त्वपूर्ण पक्ष प्रतिबद्धतालाई कार्यान्वयन र मापनयोग्य परिणामसँग जोड्नु हो । जलवायु कार्य सप्ताहमा उठेका विषय, छलफल र निष्कर्षलाई स्पष्ट कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय तथा मापनयोग्य उपलब्धिसहित कार्यान्वयनमा लैजाने प्रतिबद्धता गरिएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्राज्ञिक तथा अनुसन्धान संस्था र समुदायबीच दीर्घकालीन साझेदारी र सहकार्य संयन्त्र विकास गर्ने तथा जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्ने विषय पनि घोषणामा समेटिएका छन् ।
घोषणाको प्रभावकारी कार्यान्वयनका लागि पारदर्शी अनुगमन, नियमित समीक्षा र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्ने संकल्प गरिएको छ । यसले जलवायु परिवर्तनसँग जुध्ने जिम्मेवारी कुनै एक सरकार वा निकायको मात्र नभई बहुक्षेत्रीय समन्वय र सामूहिक प्रयासको विषय भएको स्पष्ट पारेको छ ।
मङ्सिर ७ देखि १३ गतेसम्म सञ्चालन भएको जलवायु कार्य सप्ताहमा स्थानीय सरकार, सरकारी तथा गैरसरकारी क्षेत्र, निजी क्षेत्र, प्राज्ञिक तथा अनुसन्धान संस्था, बालबालिका, युवा, महिला र समुदायका प्रतिनिधिलाई जलवायु परिवर्तनका चुनौती तथा समाधानका उपायबारे छलफल र अनुभव आदानप्रदान गर्ने साझा मञ्च प्रदान गरिएको थियो । सप्ताहका विभिन्न कार्यक्रमबाट प्राप्त सिकाइलाई सातबुँदे घोषणामा समेटिएको हो ।
काठमाडौँ जलवायु घोषणा, २०८३ ले जलवायु परिवर्तनसँग जुध्ने प्रयासलाई वातावरण संरक्षणको दायराबाट विस्तार गरी सामाजिक न्याय, नागरिक अधिकार, समावेशी सहरी विकास र अन्तरपुस्ता जिम्मेवारीसँग जोडेको छ । घोषणाको सार्थकता भने यसमा गरिएका प्रतिबद्धता कार्ययोजना, बजेट, संस्थागत जिम्मेवारी र नागरिकले अनुभूत गर्ने परिणाममा कति प्रभावकारी रूपमा रूपान्तरण हुन्छन् भन्नेमा निर्भर रहनेछ ।
