कारोबार रकम संगै १६ अंकले घट्यो नेप्से

काठमाडाैं, १७ कात्तिक । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेकाे छ । यस दिन १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा राेकिएकाे छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.५० अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे १ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २२० स्टकको १८ हजार १४० पटकको कारोबारमा ८९ करोड ८९ लाख ७ हजार रुपैयाँ बराबरको २७ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। कम्पनीले प्रतिकित्ता १ हजार २१५ रुपैयाँ अर्थात १ हजार २१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै कम्पनीको शेयरमूल्य बढ्न पुगेको हो।
यस दिन विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
त्यसैगरी, यस दिन गरिमा विकास बैंकको साढे ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने अरुण काबेली पावरको करिब साढे ३ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।