यू–१९ क्रिकेट: सुदूरपश्चिम छनोटमा डडेल्धुरा फाइनल प्रवेश

कञ्चनपुर, ३० कात्तिक । कञ्चनपुरमा जारी वाइवाई यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा मङ्गलबार भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । एक सय ४१ रनको लक्ष्य पछ्याएको कैलालीले २६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो ।

डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा सर्वाधिक २४ रन बनाए । जवाफी ब्याटिङ गर्ने क्रममा कैलालीका लागि नरेन साउदले १४ बलमा सर्वाधिक १८, प्रवेश साउदले २४ बलमा २४, सन्दीप बिष्टले ३९ बलमा १४ र दिनेश ओडले २७ बलमा १४ रन बनाए ।

महेन्द्रनगरस्थित कभर्डहलको खेलमैदानमा भएको अर्को खेलमा अछामले बझाङलाई पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको अछामले निर्धारित ४० ओभरको खेलमा ३४ दशालव तीन ओभरमा सवै विकेट गुमाएर एक सय ६० रन बनायो ।

एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको बझाङले २२ ओभरमा सवै विकेट गुमाएर एक सय ३८ रन मात्र बनायो । अछामका लागि आशिष लुहारले ३४ बलमा सर्वाधिक ४० रन बनाए ।

यस्तै ब्याटिङ गर्ने क्रममा बझाङका लागि कप्तान अशोक धामीले २२ बलमा सर्वाधिक ३१ रन, सञ्जय बोहराले १८ बलमा १६, पारस रोकायाले १८ बलमा १० तथा नरेन्द्र रानाले २५ बलमा ११ रन बनाए ।

जिल्ला क्रिकेट सङ्घका अनुसार आज बैतडी र कैलाली तथा अछाम र कञ्चनपुरबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *