नेपालभाषाका महारथि पं. निष्ठानन्द वज्राचार्यको १६६ औं जन्मदिन मनाइयो

काठमाडौं, १२ मंसिर । नेपालभाषा साहित्यका महारथि पं. निष्ठानन्द वज्राचार्यको १६६ औं जन्मदिन आइतवार मनाइयो । काठमाडौं महानगरपालिका २३ वडास्थित उहाँको प्रतिमामा माल्यार्पण गरी उक्त जन्मदिन मनाएको हो ।

स्थानीय ओलम्पस क्लबको सहयोगमा पं. निष्ठानन्द स्मृति गुथिको आयोजनामा सो कार्यक्रम गरिएको थियो । क्लबका अध्यक्ष एवं भाषासेवी पवित्र वज्राचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा साहित्यकार सुरेश किरणले पं. वज्रचार्यको योगदानमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपालभाषाका साहित्यकार एवं कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

पं. वज्राचार्यले नेपालमा आफैले बनाएको काठको प्रिन्टिङ मेसिनले ‘एकविंशति प्रज्ञापारमिता’ नामक पुस्तक छाप्नुभएको थियो । नेपालभाषामा छपाइ भएर प्रकाशनमा आएको यो नै पहिलो पुस्तक हो ।

एकपटक तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले उहाँलाई दरवारमा बोलाई बुद्ध धर्ममा ‘प्रतित्यसमुत्पाद’ को अर्थ स्पष्ट पार्न बोलाएका थिए । दरवारमा यसको अर्थ बताउन सकेका कारण उहाँलाई रु. ५०० बक्सिस दिइएको थियो ।