डा. कमलप्रकाश मल्ल स्मृतिग्रन्थ विमोचन

काठमाडौं, ३ पुस । विद्वान् डा. कमलप्रकाश मल्लसँग सम्बन्धित संस्मरणहरूको संकलन ‘कमलप्रकाश स्मृतिग्रन्थ’ विमोचन गरियो ।

कमलप्रकाश मल्ल फाउण्डेसनद्वारा प्रकाशित उक्त ग्रन्थ उहाँका बालसखाहरू डा. हेरम्बबहादुर राजभण्डारी, अच्युतबहादुर राजण्डारी र आनन्दसिद्धि तुलाधरले सामुहिक रुपमा विमोचन गर्नुभएको हो ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै डा. मल्लका विद्यार्थी एवं त्रिविविका पूर्व उपकुलपति डा. केदारभक्त माथेमाले कमलप्रकाश मल्ल नेपालको राष्ट्रिय सम्पत्ति रहनुभएको बताउनुभयो । उहाँका अर्का विद्यार्थी डा. ज्योतिप्रभा तुलाधरले अंग्रेजी साहित्य, नेपाली इतिहास, साहित्य र भाषाका क्षेत्रमा डा. मल्लको ज्ञान अद्वितीय रहेको बताउनुभयो ।

फाउण्डेसनका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठको सभापतित्वमा भएको उक्त विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार फणिन्द्ररत्न वज्राचार्य र लक्ष्मी मल्लले पनि मन्तव्य राख्नुभएको थियो ।