महोत्तरीमा थारु सङ्ग्रहालय बन्ने

महोत्तरी, ४ पुस । महोत्तरीमा थारु संङ्ग्रहालय बन्ने भएको छ । आफ्नो रितिथिति र परम्परा झल्कने सङ्ग्रहालय आफ्नै क्षेत्रमा बन्ने कुराले महोत्तरीका आदिवासी थारु अहिले दङ्ग छन् ।

आइतबार जिल्लाको भङ्गाहा नगरपालिका ७ मेघरोल पुग्नुभएका सङ्घीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले सो ठाउँमा थारु सङ्ग्रहालय बनाउने घोषणा गर्नुभएपछि उक्त समुदायमा खुसी छाएको हो ।“अब हाम्रो आफ्नै ठाउँमा थारु जातिका वेषभूषा, रितिथिति, खाद्य परिकार र रहनसहनसमेत झल्कने सङ्ग्रहालय बन्ने घोषणा भएको छ”, स्थानीय नेकपा एमाले भङ्गाहा नगर कमिटी अध्यक्ष चन्द्रनारायण सिंह थारुले भन्नुभयो, “सङ्ग्रहालय बनेपछि थारु संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धनमा सहयोग पुग्नेछ ।”

उक्त नगरपालिका थारु बाहुल्य भएको क्षेत्र मानिन्छ । जम्मा नौ वडा रहेको नगरपालिकाका सबै वडामा थारुको बसोबास छ । सबै वडामा धेरथोर थारुको बसोबास भए पनि भङ्गाहा, धर्मपुर, थारुटोल बनरा, बखरी, मदनपट्टी, पर्सा, करुणा, मझौलिया, मेघरोल, गोरहन्ना, रामनगर र भीमगढ थारु बसोबासका मुख्य बस्ती मानिन्छन् ।

साविकका भङ्गाहा, धर्मपुर, सिङ्ग्याही, हतिसर्वा, मेघनाथ गोरहन्ना र हरिहरपुर हरिनमरी गाविस क्षेत्र समेटेर भङ्गाहा नगरपालिका घोषणा गरिएको हो । जिल्लामा भङ्गाहाका अतिरिक्त गौशाला नगरपालिका क्षेत्रका रजखोर बिर्ता, निगौल र बिसरपुरसहित बस्तीमा थारु जातिको बसोबास रहँदै आएको छ ।