संसद भवनमा सम्पूर्ण नेपाल झल्किएको सपथ ग्रहणको दृष्य
काठमाडौं, ८ पुस । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूको पहिलो दिन अत्यन्त रोचक र उत्साहजनक रह्यो । खास गरी संसद प्रवेश गर्नुभएका माननीयहरूले लगाएर आएको विभिन्न स्वरुपका जातीय भेषभूषा सबैका लागि आकर्षणको केन्द्र बनेको थियो ।
उहाँहरुको यही भेषभूषाका कारण संसदमा चार जात छत्तीस वर्णको झल्को देख्न पाइएको प्रतिक्रिया पनि व्यक्त भएको थियो । संसदमा खास गरी थारु, तामाङ, मधेस, शेर्पा, क्षेत्री आदि जातिका सांसदहरू आ–आफ्नो जातीय भेषभूषामा संसद प्रवेश गर्नुभएको थियो । नेकपा (एमाले) ले शपथ ग्रहणका लागि सबै सांसदहरूलाई राष्ट्रिय पोशाकमा आउन निर्देशन जारी गरेको थियो । माओवादी केन्द्रका नेताहरू भने टाइ सूटमा उपस्थित भएका थिए ।
संसदमा विभिन्न पार्टी, विभिन्न जाति र विभिन्न विचारका सांसदहरूको प्रतिनिधित्व रहेको भएता पनि आजको बैठकमा भने यी मध्ये कुनै पनि विषयको भेद देख्न पाइएको थिएन । सदन शुरु हुनुभन्दा केही समय अघि नै संसद भवन पुगिसकेका नयाँ माननीयहरू एक आपसको भलाकुसारीमा मनग्य रमाइरहनुभएको देखिनुहुन्थ्यो । संसद परिसर पुगेका पत्रकारहरू सांसदहरूलाई छानी छानी ‘बाइट’ लिइरहेका दृश्य पनि हेर्दा रोचक नै लाग्ने खालको थियो ।
सदन शुरु हुनुभन्दा केही समय अघि नै संसद भवन पुगिसकेका नयाँ माननीयहरू एक आपसको भलाकुसारीमा मनग्य रमाइरहनुभएको देखिनुहुन्थ्यो । संसद परिसर पुगेका पत्रकारहरू सांसदहरूलाई छानी छानी ‘बाइट’ लिइरहेका दृश्य पनि हेर्दा रोचक नै लाग्ने खालको थियो
सञ्चार माध्यमका लागि हिजोको संसद सामग्रीको खानी नै थियो । यही मेसोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, ‘हामी गठबन्धकै सरकार बनाउने तयारीमा छौँ । नेतृत्व कसले गर्छ, त्यसमा चाहिँ छलफल गर्दैछौँ । संसद भवन छिर्न लाग्दै गर्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भन्नुभयो, ‘अब स्थायित्वका लागि त यो पटक कांग्रेस र एमाले नै मिलेर सरकार बनाएको राम्रो ।’
अर्कोतिर सरकार गठनमा कसलाई समर्थन गर्नुहुन्छ त भनी सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भन्नुभयो, ‘छलफल सबैसँग हुँदैछ । हामी त अब हाम्रै नेतृत्वमा सरकार गठन गर्ने विषयमा पनि छलफल गर्दैछौँ ।’ पत्रकारले उहाँलाई ‘नागरिकता काण्ड’ बारे पनि प्रश्न गरेका थिए । तर त्यसको जवाफ भने उहाँले ‘अदालतमा विचाराधीन छ’ भन्दै दिन मान्नुभएन । संसद भवन भित्र पनि सांसदहरूको खासै सिट प्लान गरिएको थियो ।
सबै वरिष्ठहरू तलको लाइनमा बसे भने कनिष्ठ र नयाँ सांसदहरू माथिल्लो लाइनमा बस्न गए । संसदको बैठक कक्षमा भने कोभिडलाई ध्यानमा राखी बीचमा एक एक सिट खाली राखी बस्ने व्यवस्था गरिएको थियो । शपथ ग्रहणको कार्य चाहिँ ज्येष्ठ सांसदका नाताले राप्रपाका सांसद पशुपति शम्शेर जबराले गराउनुभएको थियो । शपथ ग्रहण पछि संसद सचिवालयले एउटा चियापान कार्यक्रम पनि आयोजना गरेको थियो ।
चियापानमा सरिक कांग्रेस, एमाले व माओवादी केन्द्रका नेताहरू बीच भने पुरानो कुनै तुस भएको देखिएन । उहाँहरू एउटै लाइनको सोफामा बसी सौहाद्र्रपूर्ण वातावरणमा भलाकुसारी गरिरहनुभएको थियो । उहाँहरुको त्यो सौम्य संवाद देख्दा एमालेका स्वर्गीय महासचिव मदन भण्डारीले ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र’ हुँदैन भन्नुभएको भनाइ सार्थक भएको देखिँदै थियो ।