नेपालभाषाका तीन वरिष्ठ साहित्यकार पुरस्कृत

काठमाडौं, ११ पुस । नेपालभाषा (नेवार भाषा) साहित्यका तीन वरिष्ठ साहित्यकारहरूलाई ‘नेवाः हना सिरपाः (पुरस्कार)’ बाट सम्मानित गर्ने भएको छ । उक्त पुरस्कारबाट नेपालभाषा साहित्यका तीन वरिष्ठ सर्जकहरु कवि डा. योगेन्द्र प्रधान, उपन्यासकार मथुरा सायमि र कथाकार नर्मदेश्वर प्रधानलाई सम्मान गर्न लागिएको हो ।

साँखुस्थित भाषा साहित्य मुँज्या खलःले प्रदान गर्दै आइरहेको उक्त पुरस्कार रु. २० हजार धनराशी सहितको हो । नेपालभाषा साहित्यको अनवरत सेवा गर्दै आइरहेका वरिष्ठ साहित्यकारहरूलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गरिन्छ ।

गत केही वर्षदेखि बन्द रहेको यो पुरस्कार यस पटक एकैचोटी तीन साहित्यकारलाई प्रदान गरी पुनः सञ्चालन गर्न लागिएको बताइएको छ ।

आउँदो शनिवार साँखुमै एक कार्यक्रमबीच उक्त पुस्तक प्रदान गरिनेछ । सोही समारोहमा नेपालभाषाका साहित्यकारद्वय डा. बालगोपाल श्रेष्ठ र श्रीलक्ष्मी श्रेष्ठका चार पुस्तक पनि विमोचन गर्ने कार्यक्रम पनि रहेको छ ।