कविता: अन्तिम समय

सगरमाथाको टुप्पोमा टल्किरहेको
हिउँलाई कहाँ थाहा छ र पग्लिएर
हिन्द महासागरको गहिराईसम्म
पुग्छु भन्ने ।

आकाशमा उडिरहने चरिलाई
कहाँ थाहा छ र कुन डालिको टुप्पोको
बसाई अन्तिम हुन्छ भन्ने ।

मन्द हावाको चुम्बनमा फरफराईरहेको
पातलाई के थाहा छ र अकस्मात्
बोटबाट छुट्टीएर पत्थरको
छातिमा ठोकिन्छु भन्ने ।

रातभरि झरिरहेको शीतलाई
के थाहा छ र भोलि बिहानै
पुनः फर्केर त्यही आकाशमा
पुग्छु भन्ने ।

काँडाहरु बिच फुलिरहेका फूलहरुलाई
कहाँ थाहा हुन्छ र कुन प्रेम जोडीको
सम्बन्ध टिकाउन आफू जवानी मै
सहिद हुन्छु भन्ने ।

भुइँ छोडेर अन्तरीक्षमा उडेका
रकेटहरुलाई
देश छोडेर पल्टनमा हिडेका
सिपाहीहरुलाई
के थाहा छ र
कुन ग्रहको यात्रा अन्तिम हुन्छ भन्ने
के थाहा छ र
कुन युद्धको लडाइँ अन्तिम हुन्छ भन्ने।

यहाँ
घडीका आविस्कार ए . एल बिर्ग्रेटलाई त
थाहा थिएन जिवनको अन्तिम समय
यहाँ
टाइटानिक जहाज डुब्दै गर्दा संगीत
सुनाउने संगीतकारलाई त थाहा थिएन
संगीतको कुन शब्द अन्तिम हुन्छ भन्ने
यहाँ
पर्खिनेहरु पर्खिरहे अन्तिम पलसम्म
छुट्टिनेहरु छुट्टिरहे मनको चौतारीबाट
अन्तिम समयसम्म

ओहो तिमी
एकछिन पर्ख र हेरँ
पशुपतिमा लासहरु खरानी हुन
त पालो कुर्नु पर्छ भने
तिमीलाई छुटिन हतार किन ?।।