बेलका नगरपालिका बन्यो जिल्लाकै पहिलो तरकारी जोन

उदयपुर,२६ पुस । पन्ध्र वर्ष अघिसम्म आयातित तरकारीमा निर्भर उदयपुरको बेलका नगरपालिका यतिबेला तरकारी जोनका रुपमा स्थापित भएको छ । पाँच वर्षअघिदेखि नगरपालिकाले वृहत् तरकारी उत्पादन अभियान सञ्चालन गरेपछि यतिबेला यहाँ तरकारी उत्पादन बढेको छ ।

जिल्लाकै पहिलो तरकारी जोन बनाउने लक्ष्यका साथ सुरु भएको अभियानलाई नगरपालिकालाई हरियो तरकारीमा आत्मनिर्भर बनाएको छ । गत वर्ष ८० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भएकोमा यस सिजनमा एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा तरकारी खेती भइरहेको छ ।

जिल्लामा सबैभन्दा बढी हरियो तरकारी उत्पादनमा यही क्षेत्रमा भइरहेका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताउनुभयो । उहाँले यसपटक मात्रै पचास लाखभन्दा बढीको तरकारी उत्पादन भइसकेको बताउनुभयो । “किसानहरुले ५० लाख बराबरको तरकारी उत्पादन गरिसकेका छन् भने तरकारी उत्पादन अझै भइरहेको छ”, उहाँले भन्नुभयो ।

बेलका तरकारी किसान समूहका सदस्य कुमार कटुवालले आम्बासी, पुरनदह, बानडाँडा, सिसौली, रातापानी, भागलपुर, तपेश्वरी लगायतका स्थानमा पाँच सयभन्दा बढी किसान व्यवसायिक तरकारीखेतीमा संलग्न रहेको बताउनुभयो ।

गत वर्षमात्र बेलका तरकारी किसान समूहले सदरमुकाम गाइघाटसहित चौदण्डीको बेल्टार, सप्तरीको फत्तेपुर बजार र सुनसरी क्षेत्रमा ३० लाखभन्दा बढी मूल्य बराबरको तरकारी बिक्री गरेको बानडाँडाका किसान पुष्पप्रसाद भट्टराईले बताउनुभयो ।

नगरपालिका प्रमुख अशोक कार्कीले यस क्षेत्रलाई तरकारी उत्पादन पकेट क्षेत्रका रुपमा अघि बढाएको बताउनुभयो । किसानलाई तरकारी खेतीप्रति प्रोत्साहन गरेकै कारण नगरपालिका जिल्लाकै अब्बल तरकारी उत्पादक क्षेत्रको रुपमा देखा परेको प्रमुख कार्कीको भनाइ छ । नगरपालिकाले तरकारीखेतीका लागि तालिमसहित आर्थिक सहयोग, निःशुल्क बिउबीजन वितरण गर्दै आएको उहाँले जानकारी दिनुयो ।

सुनसरी, झापा मोरङ तथा सिरहा र सप्तरीमा उत्पादन हुने तरकारीभन्दा गुणस्तरीय र सस्तो मूल्यमा तरकारी उत्पादन हुन थालेपछि यहाँबाट ती क्षेत्रमा तरकारी बिक्री बढेका तपेश्वरी गाउँपालिकाका पूर्व अध्यक्ष डिल्ली बिमलीको भनाइ छ ।

हिउँदे र बर्खे लहरे तरकारी गरी हाल यस क्षेत्रमा दश प्रकारका हरियो तरकारी उत्पादन भइरहेको छ । नगरभित्र पाँच सयभन्दा बढी किसानले व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न रहेको बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताउनुभयो । प्रत्येक किसानहरुले वार्षिक ५० हजारदेखि साढे दुई लाखसम्म तरकारी बिक्री गरी आम्दानी गर्दै आएको किसान दुर्गेस कार्कीको भनाइ छ । विसं २०६८ बाट सीमित किसानले सुरु गरेको व्यावसायिक तरकारी खेती अहिले नगरका अधिकांश वडाका किसानले गर्दै आएका छन् ।