भन्सार कार्यालय मलङ्गवा : छ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन

सलार्ही , २२ माघ । भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

साउनदेखि पुससम्म ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा १७ करोड ३५ लाख ८६ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले चालु आवमा ७८ करोड ५० लाख ७६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । आव २०७८/७९ मा लक्ष्यको ८५ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको एक सय ७६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

अधिकृत साहका अनुसार राजस्वमा बढी योगदान गर्ने वस्तुको आयात घट्दा राजस्व सङ्कलन प्रभावित भएको हो । आयात हुने वस्तुमा आलु, प्याज, कोइला, सख्खर, माछाको दाना, भेनियर र फर्मलडिहाइड छन्, भने धान र गहुँ को आयात निर्यात बन्द छन् ।

आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने उहाँको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *