मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढ्यो, व्यवसायी उत्साहित
भोजपुर, ८ मङ्सिर। पूर्वी पहाडको आकर्षक गन्तव्यका रूपमा चिनिने मुन्दुम पदमार्गमा पछिल्लो समय पर्यटकको आगमन बढेको छ। पदयात्राका लागि अनुकूल मौसम र प्राकृतिक सौन्दर्य अवलोकनको उपयुक्त समय भएकाले आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको हो।
पर्यटकको आगमनसँगै पदमार्ग आसपासका होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा गतिविधि बढेको छ। यसले स्थानीय व्यवसायीमा उत्साह थपेको छ।
चखेवाका होटल व्यवसायी नवराज काङमाङका अनुसार चखेवा क्षेत्रबाट मात्रै दैनिक औसत १५० देखि २०० जना पर्यटक मुन्दुम पदयात्रामा निस्कने गरेका छन्। पर्यटक बढेसँगै होटलमा बस्ने र खाना खाने ग्राहकसमेत बढेको उनले बताए। यो समयमा चखेवामा रहेका १६ वटै होटल पर्यटकले भरिभराउ हुने गरेको उनको भनाइ छ।
पर्यटकको आगमनले होटल व्यवसायमा मात्र नभई स्थानीय उत्पादनको बिक्रीवितरणमा समेत सकारात्मक प्रभाव पारेको काङमाङले बताए। पदयात्राका क्रममा पर्यटकले स्थानीय होटलमा बास बस्ने, खाना खाने र आवश्यक सामग्री खरिद गर्ने गरेका छन्। यसबाट होटल व्यवसायीको आम्दानी बढ्नुका साथै स्थानीय कृषिउपज तथा घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पुगेको छ।
मुन्दुम पदमार्गमा विशेषगरी भदौदेखि मङ्सिरसम्म र चैतदेखि साउनसम्म पर्यटकको चहलपहल बढी हुने गरेको उनले जानकारी दिए। मौसम अनुकूल हुँदा पदयात्रा सहज हुने र प्राकृतिक दृश्य अवलोकन गर्न सकिने भएकाले यी समयमा पर्यटक बढी आउने उनको भनाइ छ। पर्यटकको आगमनलाई अझ व्यवस्थित गर्न सके स्थानीय क्षेत्रमा थप रोजगारी र व्यवसायका अवसर सिर्जना हुने उनले बताए।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय सम्पत्तिका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए। प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ऐतिहासिक पहिचान बोकेको यस क्षेत्रको योजनाबद्ध विकासमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउन गाउँपालिका लागिपरेको उनको भनाइ छ।
पदमार्गको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न प्रचारप्रसारसँगै आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइएको अध्यक्ष बस्नेतले बताए। पर्यटकको आगमनलाई निरन्तरता दिन पदमार्गको संरक्षण, सरसफाइ, आवागमनमा सहजता र पर्यटकमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए।
“मुन्दुम पदमार्गको यात्रा गर्ने पर्यटकको सङ्ख्या वर्सेनि बढ्दै गएको छ,” अध्यक्ष बस्नेतले भने, “यहाँ आउने पर्यटकको सहज र सुरक्षित यात्राका लागि गाउँपालिकाले आवश्यक ध्यान दिएको छ।”
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटन क्षेत्रको विकासले स्थानीयको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। पर्यटक बढ्दा होटल तथा खाना पसल सञ्चालनको अवसर सिर्जना हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने उनको भनाइ छ। पर्यटनलाई स्थानीय उत्पादन र रोजगारीसँग जोड्न सके गाउँपालिकाका नागरिकले आफ्नै क्षेत्रमा आम्दानीका अवसर पाउने उपाध्यक्ष राईले बताइन्।
मुन्दुम पदमार्ग प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय क्षेत्र हो। यहाँ पदयात्रा गर्दा पूर्वी पहाडका रमणीय डाँडाकाँडा, हरिया वनजङ्गल, गुराँस क्षेत्र तथा विभिन्न हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। किरात सभ्यता, संस्कृति र मुन्दुम परम्परासँग जोडिएका मौलिक पक्षले यस पदमार्गलाई अन्य पर्यटकीय क्षेत्रभन्दा विशिष्ट पहिचान दिएका छन्।
पदयात्राका क्रममा तावाभञ्ज्याङ, चखेवा, टेम्केडाँडा, मैयुङडाँडा, साल्पा पोखरी र सिलिचुङ चुचुरोलगायतका क्षेत्र पर्यटकका प्रमुख आकर्षण बनेका छन्। मौसम खुलेका बेला यहाँबाट देखिने हिमाली दृश्य, अग्ला डाँडाकाँडा र मनोरम प्राकृतिक वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ। स्थानीय रहनसहन, संस्कृति र परम्परालाई नजिकबाट नियाल्न पाइनु पनि यस क्षेत्रको अर्को विशेषता हो। पछिल्लो समय प्रकृति अवलोकन, पदयात्रा र स्थानीय संस्कृति बुझ्ने उद्देश्यले घुमफिर गर्ने पर्यटकको आकर्षण बढ्दै गएको छ।
पर्यटकलाई स्थानीय उत्पादनको स्वाद र पहिचानसँग परिचित गराउन सके यहाँ उत्पादित कृषिउपज, परम्परागत परिकार तथा घरेलु सामग्रीको बिक्री बढाउन सकिने देखिन्छ। पदमार्ग क्षेत्रमा पर्यटकको सहज आवागमनका लागि पूर्वाधार विस्तार र व्यवस्थापनका काम भइरहेका छन्। खानेपानी, शौचालय, विश्रामस्थल र सूचना पाटीको व्यवस्थासँगै पदमार्गको नियमित मर्मतसम्भार भइरहेको गाउँपालिकाले जनाएको छ। पर्यटकको सुरक्षित यात्राका लागि स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबीच समन्वय गरी काम भइरहेको गाउँपालिकाको भनाइ छ।
पदमार्गको प्रचारप्रसार, स्थानीय संस्कृति र उत्पादनको प्रवर्द्धन, पूर्वाधार विकास तथा पर्यटकमैत्री सेवा विस्तारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
