नेप्से परिसूचक पाचौं दिन पनि निरन्तर ओरालो

काठमाडाैं, ८ फागुन । निरन्तर ओरालो लागेकाे नेप्से परिसूचक पाचौं कारोबार दिन पनि ओरालो लागेको छ।
यस दिन नेप्से परिसूचक २३.६० अंक घटेर २०४६.८१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक घटेको छ।
नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएकोमा यस दिन २५८ स्टकको ३८ हजार ४१५ पटकको कारोबारमा १ अर्ब ९४ करोड ७६ लाख २३ हजार रुपैयाँ बराबरको ६० लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार नेप्से घटेपनि एक कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। त्यस्तै, उपकार लघुवित्तको शेयरमूल्य यस दिन ७.४२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। त्यस्तै, यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।