राष्ट्र बैंकले ल्याउँदै ५ रुपैयाँका १५ करोड नयाँ सिक्का
काठमाडौं, १३ मङ्सिर । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका १५ करोड थान नयाँ सिक्का उत्पादन तथा आपूर्तिका लागि प्रक्रिया अघि बढाएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टकमरी तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत योग्य कम्पनीबाट प्रस्ताव माग गरेको हो ।
राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनीले डिसेम्बर २९ सम्म प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्न सक्नेछन् । प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिनेछ ।
यसका लागि कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर बराबरको बैंक जमानत आवश्यक पर्नेछ । बोलपत्र प्रक्रियामा राष्ट्र बैंकको पूर्वयोग्यताको सूचीमा रहेका अन्तर्राष्ट्रिय कम्पनीले मात्र सहभागी हुन पाउनेछन् ।
