सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
धनगढी, १३ मङ्सिर । सडकमा छाडा छोडिएका पशुचौपायाका कारण हुने दुर्घटना तथा खेतीबालीमा हुने क्षति नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाले थालेको सामुदायिक पशु व्यवस्थापन अभियान प्रभावकारी बन्दै गएको छ।
उपमहानगरपालिकाले छाडा पशुचौपायालाई विभिन्न स्थानमा निर्माण गरिएका गौशालामा राखेर संरक्षण गर्न थालेपछि सडक दुर्घटना र खेतीबालीमा हुने क्षति घटेको स्थानीयवासीले बताएका छन्।
धनगढी उपमहानगरपालिकाले वडा नं ७ को देवरिया, वडा नं १६ को रामपुर र वडा नं १८ को फूलबारीमा गौशाला सञ्चालनमा ल्याएको छ। ती गौशालामा हालसम्म एक हजारभन्दा बढी सामुदायिक पशुको उद्धार तथा संरक्षण गरिएको उपमहानगरपालिकाले जनाएको छ। आगामी दिनमा गौशालाको सङ्ख्या थप गर्ने योजना रहेको छ।
फूलबारीस्थित हाम्रो गौशालामा मात्रै ५०० भन्दा बढी गाईगोरुलाई आश्रय दिइएको छ। गौशाला व्यवस्थापनका लागि कार्यरत आठ कर्मचारीलाई उपमहानगरपालिकाले मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको छ।
विसं २०७९ को स्थानीय तह निर्वाचनका क्रममा धनगढीका सहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाले छाडा पशु व्यवस्थापनलाई प्रमुख समस्याका रूपमा उठाएका थिए। तत्कालीन स्वतन्त्र नगरप्रमुख उम्मेदवार गोपाल हमालले निर्वाचनका क्रममा नगरप्रमुखमा निर्वाचित भए नगरपालिकाको बजेटबाट र पराजित भए निजी खर्चबाट गौशाला निर्माण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
निर्वाचनमा विजयी भएपछि हमालले प्रतिबद्धताअनुसार सामुदायिक पशु व्यवस्थापनलाई प्राथमिकता दिनुभएको हो। विसं २०८० मङ्सिरदेखि फूलबारीमा छाडा गाईवस्तुलाई व्यवस्थित रूपमा राख्न थालिएको गौशाला व्यवस्थापक डेगमान पौडेलले जानकारी दिनुभयो।
“निर्वाचनका क्रममा स्थानीयले हामीसँग अरू केही चाहिँदैन, खेती खान पाएनौँ, यी गाईको व्यवस्थापन गरिदिनुस् भनेका थिए,” पौडेलले भन्नुभयो, “नगरप्रमुखमा निर्वाचित भएपछि हमालले पहिलोपटक रु ५० लाख विनियोजन गर्नुभयो।”
पहिलो वर्ष गौशालामा दुईवटा टहरा निर्माण गरिएको थियो। त्यसपछि नगरपालिकाले थप रु एक करोड विनियोजन गरेको थियो। हालसम्म फूलबारीस्थित गौशालामा मात्रै रु पाँचदेखि छ करोडसम्म लगानी भइसकेको व्यवस्थापक पौडेलले बताउनुभयो।
विसं २०८० मङ्सिर १४ गते स्थानीय जनप्रतिनिधि र बासिन्दाको उपस्थितिमा ५०५ गाई गौशालामा ल्याएर राखिएको थियो। हाल साढे तीन बिघा क्षेत्रफलमा फैलिएको गौशाला छाडा पशुको संरक्षणस्थलसँगै स्थानीयले पाल्न नसकेका घरपालुवा पशु राख्ने स्थलसमेत बनेको छ।
गाईवस्तु पाल्न नसक्ने आसपासका गाउँका बासिन्दाले गौशालामा पशु ल्याउने गरेका छन्। त्यसबापत प्रतिगाई रु दुई हजार शुल्क लिने गरिएको छ।
गौशालाले पशुपालनसँगै आम्दानीका स्रोतसमेत विकास गर्न थालेको छ। गोबरबाट जैविक मल उत्पादन गरी बिक्री गर्ने तथा दूध बिक्री गर्ने काम भइरहेको व्यवस्थापक पौडेलले बताउनुभयो। गौशालाबाट प्रतिघनमिटर रु एक हजारका दरले गोबर बिक्री हुने गरेको उहाँको भनाइ छ। यसबाट प्राप्त रकम दाना, भुसा र पराल खरिद तथा कर्मचारीको पारिश्रमिकमा सहयोग पुगेको छ।
यद्यपि गाईवस्तुको सङ्ख्या बढ्दै गएपछि दाना र परालको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। पर्याप्त दाना र पराल उपलब्ध नहुँदा दिउँसो गाईलाई चराउन गौशालाबाट करिब तीन किलोमिटर टाढाको जङ्गलसम्म लैजानुपर्ने अवस्था रहेको पौडेलले बताउनुभयो।
“गाई चराउन पाँचजना सँगसँगै जान्छौँ। त्यति गर्दा पनि कोही जङ्गलतिर र कोही बस्तीतर्फ भाग्छन्। फेरि खोजेर ल्याउनुपर्छ,” उहाँले भन्नुभयो।
सामुदायिक पशु व्यवस्थापनको काम प्रभावकारी बन्दै गएपछि गौशालालाई स्वस्फूर्त रूपमा सहयोग गर्नेको सङ्ख्यासमेत बढ्दै गएको नगरप्रमुख हमालले बताउनुभएको छ। उहाँका अनुसार स्थानीय तह, समुदाय र नागरिकको सहकार्यमा सामुदायिक पशुको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको छ।
