बालुवाटार बैठकमा राष्ट्रपतिका लागि कांग्रेस र नेकपा समाजवादीको अडान कायमै, सहमति जुट्न सकेन

काठमाडौं, १२ फागुन । राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन अर्थात् आजसम्म पनि भावी राष्ट्रपति को बन्ने भन्ने टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबिच करीब ३ घण्टाको वार्ता समेत निष्कर्षमा पुग्न सकेन ।

आजको बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिदैँ कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनबारे बैठकमा छलफल भएको भन्दै साँझ ५ बजे बैठक बसेर निर्णय गर्ने जानकारी दिनुभयो । यद्यपि, बैठकमा राष्ट्रपतिका लागि नेकपा एकीकृत समाजवादी र कांग्रेस दुबैले अडान राखेपछि निष्कर्षमा पुग्न सकेन । पछिल्लो समय नेकपा (एमाले)ले समेत विकल्पका रुपमा नेकपा समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिका रुपमा अघि सारेपछि प्रचण्ड स्वयं अप्ठ्यारोमा पर्नुभएको छ । दुई दिन अघिसम्म कांग्रेसलाई समर्थन गर्ने निश्चित भैसकेको अवस्थामा नेपालको नामपछि प्रचण्ड थप सहमतिको दौडधुपममा हुनुहुन्छ ।

आज बालुवाटार बैठकमा दुबै दलले आ–आफ्नो पक्षमा अडान लिएका कारण कुनै निष्कर्शमा पुग्न नसकेको छलफलमा सहभागी नेताहरुले जानकारी दिनुभएको छ । ‘आजको बैठकमा आ–आफ्नो पार्टीको धारणा राख्ने काम भयो,’ जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भन्नुभयो, ‘त्यो भन्दा धेरै कुरा भएन । आज बेलुका पाँच बजे बैठक बस्ने सहमति भएको छ ।’
बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो ।