उहिलेका कुरा

रेडियोमा लाइभ गाउँदा प्रति गीत दश रुपैयाँ पाइन्थ्योः भृगुराम श्रेष्ठ

भृगुराम श्रेष्ठ नेपालभाषाका प्रख्यात गायक हुनुहुन्छ । ९० वर्षीय गायक भृगुराम श्रेष्ठ आफ्नो त्यतिबेलाको गायन, अभियन र जीवनको अनुभव सुनाउँदै भन्नुहुन्छ…

मेरी आमाको नाम सानुनानी श्रेष्ठ, बाको नाम आशाराम श्रेष्ठ हो । म वि.सं. १९९० कात्तिक महिनामा जन्मेको हुँ । मुखःअष्टमिका दिन । त्यौड टोलको तुंबहालमा । उक्त बहालमा इनारहरू धेरै छन् । स्थानीय नेपालभाषामा इनारलाई ‘तुं’ भनिन्छ । धेरै ‘तुं’ भएको बहाल भएको कारणले उक्त बहालको नामै ‘तुंबहाल’ हुन गएको रहेछ ।

सानो बेला कपडाको भोटो र सुरुवाल लगाउने चलन थियो । म पनि त्यही लगाउँथेँ । भोज जाँदा मात्रै टोपी सहित राम्रो कपडाको दौरा सुरुवाल लगाएर जाने हो ।

बुबाको सरकारी जागिर थियो । अलि अलि पढ्न आउँथ्यो । म पनि टोलकै माधव बाजेको घरमा पढ्न जान्थेँ । ठूलो वर्णमाला पढ्न सिकेँ । हिसाब पनि सिकेँ । पछि दरवार स्कुलमा भर्ना भएँ । त्यहाँ १० कक्षासम्म पढेँ । पछि पढाइ छुट्यो । गाउँ गाउँमा बाली उठाउने काममा लाग्नुपर्ने भयो ।

गीत गाउन चाहिँ मलाई बच्चैदेखि मन पर्दथ्यो । गाउन पनि सक्थेँ । खास गरी नेवाः गीत र भजन गाउथेँ । हिन्दी गीत पनि गाउँथेँ । बिहान सबेरै उठ्ने मेरो बानी छ । बिहानको नित्यकर्म सकेपछि एक गिलास तातो पानी खाने । चिया खाने चलन त्यतिबेला आइसकेको थिएन । घरमा हार्बिन थियो, हार्बिन बजाएर गीत र भजन गाउँथेँ । दिनको एक दुई घन्टा रियाज चल्थ्यो ।

०९ सालदेखि रेडियो नेपालमा गाउन थालेँ । ‘जीवन दबू’ नामक नेपालभाषाको कार्यक्रम थियो । त्यो कार्यक्रममा म पनि हार्बिन बजाउँथेँ । अर्का एक जना साथी तबला बजाउँथे । अनि म लाइभ नै गाउँथेँ । गीत रेकर्ड गर्ने व्यवस्था थिएन । लाइभ गाउँदा कतै बिग्रेमा फेरि गाउन मिल्दैन । बिग्रे बिग्रेरै जान्थ्यो । म धेरैजसो लोकगीत गाउँथेँ । त्यस मध्ये ‘माया रे रतन, जि नं छंके माया’ गीत त्यतिबेला साह्रै हिट भएको थियो ।

त्यति बेला एउटा गीत गाए वापत दश रुपैयाँ पारिश्रमिक पाइन्थ्यो । यो ‘माया रे रतन’ गीतको रचनाकार र संगीतकार को हो मलाई थाहा छैन । लोकगीत भनिन्थ्यो । टप्प टिप्यो, गायो, सकियो । यस्ता धेरै गुमनाम लोकगीतहरू मैले रेडियोमा गाएँ ।

त्यति बेला एउटा गीत गाए वापत दश रुपैयाँ पारिश्रमिक पाइन्थ्यो । यो ‘माया रे रतन’ गीतको रचनाकार र संगीतकार को हो मलाई थाहा छैन । लोकगीत भनिन्थ्यो । टप्प टिप्यो, गायो, सकियो । यस्ता धेरै गुमनाम लोकगीतहरू मैले रेडियोमा गाएँ ।

रेडियो नेपाल मात्र होइन, त्यतिबेला टोल टोलमा सांस्कृतिक कार्यक्रमहरू हुने गर्थे, त्यहाँ पनि मैले प्रशस्तै गाएँ । टोलकै साथी जनकवि दुर्गालाल श्रेष्ठका गीतहरू पनि मैले धेरै गाएँ । ०१२ सालदेखि मैले आफ्नै टोलको ज्ञानमाला भजनमा पनि गाउन थालेको थिएँ । मैले त्यही भजनको हार्बिन बजाउँदै नै हार्बिन सिकेको थिएँ ।

२००२ सालतिरको कुरा सुनाउँ । त्यतिबेला इन्द्रजात्रा र गाईजात्रा ताका काठमाडौंका टोल टोलमा दबू प्याखं (खुल्ला डबलीमा देखाइने नाटक) प्रदर्शन गर्ने चलन थियो । त्यस्ता नाटकहरू अत्यन्तै लोकप्रिय हुन्थे । मलाई गायन मात्र होइन, अभियनमा पनि खुबै रुचि थियो । त्यसैले त्यस्ता दबू प्याखंहरूमा पनि म अभिनय गर्न पुग्थेँ । म त्यहाँ अभिनय पनि गर्थेँ, गीतमा नाच्थेँ पनि । साथै गीत पनि गाउँथेँ । त्यतिबेला एउटा दबू प्याखंमा मैले गाएको पहिलो गीत यस्तो थियोः

‘जगतय् मांया गुण अति भारी
मां बिना थ्व जीवन दइमखु, सुखकारी’

(जगतमा आमाको गुण अति भारी

आमा बिना यो जीवन हुन्न सुखकारी)

यो गीत गाएको दबू प्याखंमा मैले राजकुमारी किरणको भूमिकामा खेलेको थिएँ । अर्थात एक महिलाको भूमिकामा म थिएँ । त्यतिबेला दबू प्याखंमा महिला पात्र भए पनि त्यसमा महिला कलाकार नै आएर खेल्ने चलन भने थिएन । पुरुष कलाकार नै महिला भएर खेल्थे । त्यसमा म पनि एक थिएँ । त्यसमा म आफैले गीत गाई आफै नाचेको थिएँ ।

त्यस्तै २००४ सालको एउटा प्रशंग भनौँ । त्यतिबेला असन सँगैको न्हैंकन्तला टोलमा साना किशोरहरुको समूहले एउटा दबू प्याखं बनाएको थियो । बाल नाटक थियो । किशोरहरु मध्ये जेठो मै थिएँ । नाटक दुर्गालालले लेख्ने, अनि म चाहिँ निर्देशन गर्नुको साथै अभिनय पनि गर्ने । महिला कलाकार नहुने भएकोले मै महिला भएर डबलीमा आउँथेँ । मेरा गुरु हुनुहुन्थ्यो, वरिष्ठ कलाकार कान्छाबुद्ध वज्राचार्य ।

त्यतिबेला गाईजात्रादेखि इन्द्रजात्रासम्म टोल टोलमा दबू प्याखंहरू प्रदर्शन गरिन्थ्यो । यो अवधिभरि मेरो फुर्सदै हुँदैनथ्यो । न दिनमा, न रातमा । दिनमा रिहर्सल, रातमा प्रदर्शन । कहिलेकाहीं त रातमा नाटक देखाउँदा देखाउँदै सकिँदा बिहान भइसकेको हुन्थ्यो । सुत्ने भनेको त्यही बिहान एक छिन मात्रै हो ।

२०१३ सालतिर मेरो दैनिकीमा एउटा मोड आयो । म प्रहरीमा तालिम लिएर आर्मीमा जागिर खान गएँ । कवाज खेल्ने, दौडने, बन्दुक पड्काउने काम त मैले तालिममा सिकेँ । तर आर्मीको जागिर भए पनि मेरो काम भने बन्दुक समाउने भन्दा पनि रेडियो नेपालमा साताको एक घन्टा कार्यक्रम चलाउने हुन्थ्यो । विषय हुन्थ्यो पुलिसका बारेमा । पछि भारतीय सिमानातिर पनि बस्न जानु प¥यो । त्यहाँ महिनौं बस्नु पर्ने हुन्थ्यो । देशको रक्षा गर्नु भनेको गाह्रै हुँदो रहेछ । तर गाह्रो भए पनि मैले पूरा गरेँ । तर आर्मीको जागिर भए पनि मैले गीत र भजन गाउन भने छोडिनँ । त्यो जारी नै राखेँ ।

२००१ सालतिरको कुरा हुनु पर्छ । भारततिरको सिमानामा रहँदा अराष्ट्रिय तत्वसँग युद्ध गर्नुपर्ने अवस्था भयो । त्यो बेला असाध्यै गाह्रो भयो । तर गाह्रो भए पनि डटेर लडेँ ।

वि.सं. २०२१ सालमा ‘माइतीघर’ नामक नेपाली भाषाको फिल्म निर्माण भयो । त्यसको एउटा ग्रुप डान्समा म पनि थिएँ । अहिलेको ‘माइतीघर’ भन्ने ठाउँमा त्यो बेला एउटा छाप्रो जस्तो घर थियो । त्यो ‘माइतीघर’ फिल्म युनिटको अफिस रहेछ । त्यो घरमा ‘माइतीघर’ लेखिएको एउटा साइनबोर्ड पनि राखिएको थियो । पछि त्यो ठाउँको नामै ‘माइतीघर’ रहन गयो ।

‘माइतीघर’ फिल्ममा ग्रुप डान्समा बसेर नाच्दा साह्रै रमाइलो भयो । पारिश्रमिक प्रति व्यक्ति पाँच पाँच सय पाइन्थ्यो । तर मैले भने एक पैसा पनि पाइन ।

‘माइतीघर’ फिल्ममा ग्रुप डान्समा बसेर नाच्दा साह्रै रमाइलो भयो । पारिश्रमिक प्रति व्यक्ति पाँच पाँच सय पाइन्थ्यो । तर मैले भने एक पैसा पनि पाइन । वा भनौं, मैले लिनै गइन । फिल्ममा नाच्न पाइयो, मेरो लागि त्यही ठूलो थियो । शुटिङ हुँदा पनि टन्न खान पाइन्थ्यो, मलाई त्यति भए पुगिहाल्थ्यो ।

वास्तवमा मैले दबू प्याखं खेल्दा वा गाउँदा पनि यति चाहिन्छ, उति चाहिन्छ भनेर कहिल्यै मागेको थिइन । अर्को अर्थमा भन्ने हो भने पारिश्रमिकको आश मैले कहिल्यै गरेको थिइन । गीत गाउनु, नाच्नु, अभिनय गर्नु मेरो रहर थियो, रहर पूरा गर्न पाए पछि मलाई पुग्थ्यो ।

‘माइतीघर’ पछि मैले ‘हिजो आज भोली’ फिल्ममा पनि खेलेँ । त्यस पछि ‘पानी’ नामक टेलिसिरियल खेलेँ । २०४३ सालमा नेपालभाषाको पहिलो फिल्म ंसिलु’ र त्यसपछि बनाइएको ‘राजमति’ फिल्ममा पनि खेलेको छुँ ।

म साइकल चाहिँ बच्चैदेखि चलाउँथेँ । अहिले यो उमेरमा पनि चलाइरहेकै छु । कतै जानुपर्दा अक्सर साइकलबाटै जाने गर्छु ।

२०१२ सालमा जुलुमेश्वरी श्रेष्ठसँग मेरो विवाह भयो । मेरो गीत सुधार्न उनले पनि धेरै सघाइन् । नमिलेको ठाउँमा उनी सुधार्न सुझाव दिन्थिन् । म सुधारिहाल्थेँ ।

प्रस्तुतीः शशिकला मानन्धर