‘कोशी प्रदेश’ विरुद्ध पहिचानवादीको प्रदर्शन

काठमाडौं, १९ फागुन । प्रदेश नं. १ को नाम ‘कोशी प्रदेश’ राखिएको विरोधमा पहिचानवादीहरूले प्रदर्शन गर्न थालेका छन् । हिजो प्रदेश १ अन्तर्गत रहेको विभिन्न प्रमुख नगरहरूमा कोशी नामाकरणको विरोधमा प्रदर्शनहरू भएका थिए ।
प्रदर्शनकारीहरूले विभिन्न स्थानमा कोशी प्रदेश लेखिएको पर्चामा आगो लगाई आक्रोश प्रदर्शन गरेका थिए ।
यस क्रममा बेलवारीमा आयोजित विरोध प्रदर्शनमा वक्ताहरूले राज्यले बहुमतको दम्भ देखाई पहिचानवादीहरूलाई किनारा लगाउन खोजिएको आरोप लगाएका थिए ।
त्यस्तै कतिपय ठाउँमा पहिचानवादीहरूले सडकमा ब्यानर ओछ्याएर पनि विरोध प्रदर्शन गरेका छन् ।
यसै बीच माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसदको गणितीय स्वरुप आफ्नो पक्षमा नदेखिएका कारण कोशी प्रदेश नामाकरणमा सहमति जनाएको स्पष्टीकरण दिनुभएको छ । आङ्बोले हिजो एक वक्तव्य प्रकाशित गर्दै आफूहरू पहिचानजनित नाम राख्नुपर्छ भन्ने पक्षमा हुँदाहुँदै पनि संसदको गणितले साथ नदिएको र अब प्रदेशका नामाकरणमा विलम्ब गर्नु हुँदैन भनेर कोशी प्रदेशलाई समर्थन दिएको पनि बताउनुभएको छ ।