न्यायिक सम्मेलनको पहिलो दिन

तीन कार्यपत्रमाथि छलफल, नयाँ कुरा सिक्न पाउँदा सहभागिहरु उत्साहित

काठमाडौं, १५ चैत । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा न्यायिक समितिको पहिलो सम्मेलन काठमाडौंमा सुरु भएको छ । ७५३ वटै पालिकाकाका न्यायिक समितिका संयोजक, उपप्रमुख÷उपाध्यक्ष सहभागी सम्मेलनको पहिलो दिन आज निकै भब्य रुपमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको सो सम्मेलनको पहिलो दिन तीन वटा कार्यपत्र प्रस्तुत भएका छन् ।

पहिलो दिनको पहिलो सत्रमा अधिवक्ता इन्दु तुलाधरले न्यायिक समितिको अवधारणा, अधिकार क्षेत्र र यसको प्रचलन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उद्घाटनपछि सुरु भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तुलाधरले न्यायिक समितिलाई कानुनले दिएको अधिकार, न्याय निरूपणका सिद्धान्तबारे जानकारी दिनुभयो । दोस्रो कार्यपत्र न्यायिक समितिले विवाद निरुपणमा अपनाउनुपर्ने कार्यविधिबारेको कार्यपत्र थियो । उक्त कार्यपत्र उच्च अदालतका न्यायधीश टेकनारायण कुँवरले प्रस्तुत गर्नुभयो । कार्यपत्रमा पूर्व न्यायधीशहरु गिरिसचन्द्र लाल, र द्वारिकामान गिरीले छलफल गर्नुभएको थियो ।

तेस्रो कार्यपत्र वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्लेले प्रस्तुत गर्नुभयो । सो कार्यपत्र विवादको समाधानमा मेलमिलाप प्रक्रियाकाको वषयमा थियो । दोस्रो दिनको सत्रमा न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रक्रिया तथा कार्यविधि विषयमा अधिवक्ता डा सरिता खनालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ भने अन्तिम सत्रमा न्यायिक समितिबाट भएका मिलापत्र वा निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक संस्थागत प्रबन्ध तथा कार्यहरूको विषयमा काठमाडौं महानगरपालिकाका कानुन तथा मानव अधिकार विभाग प्रमुख बसन्त आचार्यले प्रस्तुत गर्नुहुनेछ ।

निकै उत्साहपूर्ण उपस्थितिमा सुरु भएको यो सम्मेलनले न्यायिक समितिले अहिलेसम्म गरिरहेको काम र त्यसबाट प्राप्त भएको अनुभव हामी साटासाट गर्ने छ । ‘न्यायिक समितिसँग कति सफलताका कथा छन् भने कति चुनौति कथा छन्,’ डंगोलले भन्नुभयो, ‘कति धेरै ठूला समस्याका पहाड पनि हामीसँग छन् । समस्या, चुनौति, सफलताका कथाका अनुभवलाई हामीले सिकाई र भोगाइको आधार प्रदान गर्न एउटा ‘प्लेटर्फम’ चाहिन्छ भनेर काठमाडौं महानगरपालिकोले यो सम्मेलन गरेको हो । हामी यसमा केही हदसम्म सफल हुन्छौँ भन्ने ठानेका छौँ ।’

कार्यक्रममा सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमै आएर काठमाडौं महानगरपालिकाकी उपप्रमुखले निम्ता दिएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले यस्तो भव्य कार्यक्रम गरेकोमा उपप्रमुख डंगोललाई बधाई पनि दिनुभयो । काठमाडौं महानगरपालिकाका प्रमुख बालने साहले पनि बधाई दिनुभयो । उपप्रमुख डंगोलले कार्यक्रमलाई सम्वोधन गर्दै स्थानीय तहमा हुने न्याय सम्पादनमा एकरुपता ल्याउन आवश्यक रहेको भन्दै यो सम्मेलन त्यसमा फलदायी हुने आशा लिएको बताउनुभयो । न्यायिक समितिको सशक्तिकरणको आवाजलाई बुलन्द बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सम्मेलनलाई राष्ट्रियव्यापी बनाउनेपर्ने भन्दै समितिका सदस्यहरूको क्षमता विकासका लागि संघ÷प्रदेश सरकारले कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले पनि यस्तो कार्यक्रम पहिलो पटक भएको भन्दै धेरै कुरा सिकेर जानेमा आफूहरु आशावादी रहेको बताए ।

आज प्रस्तुत कार्यपत्रमाथिको छलफलमा सहभागीहरु निकै उत्साहित देखिन्थे । केही नयाँ सिकेर पालिका फर्किने र यहाँ सिकेको कुरा लागु गर्ने अधिकांश सहभागीको भनाई थियो । अहिलेसम्म पनि न्यायिक समितिको अधिकार र कार्यक्षेत्रबारे अनविज्ञ रहेका उपप्रमुख–उपाध्यक्षहरुको मुहारमा खुशी छाएको प्रष्ट देखिन्थ्यो ।